शनिबार, वैशाख १५, २०८१

हिन्दी चलचित्र नेपाल विवाद : धर्मेन्द्रमाथि प्रतिबन्ध, ऋतिक रोशन प्रकरणदेखि आदिपुरुषसम्म

नेपालखोज २०८० असार १२ गते १६:३०

काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश रहेको भनिएको एक विवादास्पद संवादका कारण गत साता नेपाल तरङ्गित बन्यो।

विश्वभर ठूलो तामझामका साथ प्रदर्शन गरिएको निकै महँगो खर्चमा बनाइएको भनिएको उक्त चलचित्रबारे तेर्सिएको विवाद नेपालमा हिन्दी चलचित्रसँग सम्बन्धित पहिलो भने होइन।

निकै चलेका भारतीय अभिनेता धर्मेन्द्रदेखि अक्षय कुमार, माधुरी दीक्षित लगायतबारे नेपालमा विगतमा कैयौँ यस्ता घटना भएका छन् जसले नेपालमा चर्को आलोचना निम्त्याएको थियो।

सन् २०००मा बलिउड अभिनेता ऋतिक रोशन जोडिएको प्रकरणले त ‘निकै ठूलो आन्दोलनको स्वरूप लियो’।

विगतमा भन्दा फरक यस पटकको विवादको केन्द्रमा भने जन निर्वाचित प्रतिनिधि छन्।

काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले आदिपुरुष चलचित्रको एउटा विवादास्पद संवाद नहटाए काठमाण्डूका सिनेमाघरहरूमा कुनै पनि हिन्दी चलचित्र प्रदर्शन गर्न रोक लगाउने घोषणा गरे। लगत्तै पोखरा महानगरपालिकाले उस्तै बेहोराको निर्णय सार्वजनिक गर्‍यो।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले पनि आफ्नो क्षेत्रमा आदिपुरुष प्रदर्शनमा रोक लगाइएको उद्घोष गरे।

देशका केही प्रमुख सहरहरूमा उक्त चलचित्र प्रदर्शनमा घोषित रूपमा रोक लगाइए पनि प्रभाव भने देशै भर पर्‍यो।

विभिन्न विद्यार्थी सङ्गठन लगायतले सिनेमाघरहरूमा पुगेर सचेत गराएपछि सुरक्षा चुनौतीका कारण सिनेमाघरहरूले चलचित्र प्रदर्शन रोके। सामाजिक सञ्जालमा काठमाण्डूमा चल्दाचल्दैको फिल्म बन्द गर्न लगाइएको भिडिओ देखा परेको थियो।

उक्त चलचित्रमा समावेश भएको भनिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने ‘आपत्तिजनक सन्देश’ चलचित्रको मूल भागबाटै हटाउन महानगरका मेयरले आह्वान गरेका थिए। उक्त संवाद सच्याउन तीन दिनको म्याद दिइएको थियो।

आदिपुरुषमा रहेको भनिएको संवादबारे नेपालमै फरक फरक बुझाइ रहेको पाइन्छ। चलचित्रमा सोझो रूपमा त्यस्तो संवाद नरहेका विवरणहरू पनि सार्वजनिक भएका छन्।

विवादबीच सिनेमाघरहरूमा सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएपछि सरोकारवालाहरूले अदालतको ढोका ढकढकाए। गत साता दायर गरिएको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत पाटनले भारतीय चलचित्रको प्रदर्शनलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दियो।

त्यसयता सिनेमाघरहरूमा विक्की कौशल र सारा अलि खानले अभिनय गरेको बलिऊड चलचित्र ‘जरा हटके जरा बचके’ पुनः प्रदर्शनमा आएको छ। तर अदालतको आदेशपश्चात् पनि आदिपुरुष प्रदर्शनको अवस्थामा भने कुनै परिवर्तन आएको छैन।

महँगो मूल्य तिरेर वितरण अधिकार खरिद गरिएको भनिएको आदिपुरुष चलचित्रले विगतमा भएको ऋतिक रोशन काण्डको तीतो सम्झना ताजा बनाइदिएको उक्त चलचित्रका वितरक मनोज राठी बताउँछन्।

ऋतिक रोशन काण्ड हुँदा एक दुई महिनासम्म सिनेमाघरमा मानिसहरू नआएको उनको भनाइ छ।

नेपालमा भारतीय चलचित्रका कारण सृजना भएका कैयौँ यस्ता विवाद छन् जसको कतिपय अवस्थामा ठोस कारण हालसम्म पनि खुल्न सकेको छैन।

त्यस्ता केही विवाद सामान्यरूपमा सल्टिएका छन् भने केही विवादका कारण सर्वसाधारणले ज्यान नै गुमाउने अवस्था सृजना भएको थियो।

नेपालमा भारतीय चलचित्रका कारण राजनीतिक तहमा समेत तरङ्ग उत्पन्न हुने गरेको भए पनि तुलनात्मक रूपमा हिन्दी सिनेमा प्रदर्शनको चलन भने अन्यत्रका तुलनामा ढिला सुरु भएको लेखक तथा चलचित्रकर्मी प्रकाश सायमी बताउँछन्।

उनका अनुसार खासगरी काठमाण्डूमा रहेका सिनेमाघरहरूमा त्यसबेला अङ्ग्रेजी चलचित्रको बोलवाला थियो।

‘तर क्रमिक रूपमा हिन्दी चलचित्रको बजार विस्तार हुँदै गयो। सिनेमा राम्रोसँग चल्ने भएकाले पछि हिन्दी चलचित्र प्रदर्शन हुँदा चर्चित स्क्रीन पत्रिकामा दिइने विज्ञापनमा ‘रिलिजिङ अल ओभर इन्डिया एन्ड नेपाल’ (भारतका सबै सहर र नेपालमा प्रदर्शन हुन लागेको) भनेर उल्लेख गर्ने गरिन्थ्यो,’ सायमी भन्छन्।

उनका अनुसार खासगरी सन् १९७०को दशकबाट काठमाण्डू, पूर्वी नेपाल अनि तराईमा हिन्दी चलचित्रको बजार फस्टाउन थाल्यो।

नेपालको बजार त्यस बेला भारतीय निर्माताहरूका लागि पनि ‘निकै महत्त्वपूर्ण रहेकाले’ नेपाल र भारत दुवै देशका सिनेनिर्माताहरूले अक्सर छिमेकीलाई हानी नपुग्ने गरी योजना तयार पार्ने एक किसिमको सहमति नै गरेको सायमीको बुझाइ छ।

त्यस बेला नेपालका चलचित्र निर्माताहरूले त्यो कुरा धेरै हदसम्म पालना गर्ने गरेको भए पनि भारतमा बन्ने चलचित्रहरूमा भने नेपालीहरूलाई चौकीदार लगायतका भूमिकामा चित्रण गरिने हुँदा छिटपुट घटनाहरू हुने गरेका दृष्टान्त दिनेहरू छन्।

धर्मेन्द्रबारे त्यो विवाद जसकारण नेपालमा चलेको थिएन शोले

भारतीय चलचित्र वा अभिनेताहरूबारे नेपालमा कैयौँ विवाद उत्पन्न भएका छन्। ७०को दशकमा भारतमा निकै ख्याति कमाएका अभिनेता धर्मेन्द्र त्यस्तै विवादमा मुछिएका थिए।

जानकारहरूका अनुसार त्यो विवाद यति ठूलो हुन पुग्यो कि चलचित्र चिरागपछि अभिनेता धर्मेन्द्रका सबैजसो चलचित्र नेपालमा निकै लामो समयसम्म प्रदर्शनमा आएनन्।

भारतीय चलचित्रका लागि राम्रो बजार बनेको नेपालमा चलचित्र प्रदर्शन नहुने भएपछि निर्माताहरूले धर्मेन्द्रको ‘पारिश्रमिक घटाउन लगाएको’ पनि बताइन्छ।

खासमा त्यस्तो के भएको थियो जसले गर्दा धर्मेन्द्रलाई नेपालमा बहिष्कार गरियो ?

सायमीका अनुसार विवादको सुरुवात सन् १९७०को दशकमा भारतीय सहर उदयपुरमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरूसँग जोडिन्छ। एक हिन्दी चलचित्रको छायाङ्कनका क्रममा उक्त टोली र नेपाली विद्यार्थीहरूबीच विवाद उत्पन्न भएको बताइन्छ।

भनिए अनुसार विवाद चर्कँदै गएपछि दुई पक्षबीच हानाहान भयो। जस क्रममा त्यो प्रकरणमा नमुछिएका नेपाली विद्यार्थीहरूलाई समेत चलचित्र छायाङ्कन टोलीले हातपात गरेका थिए।

प्रत्यूत्तरमा नेपाली विद्यार्थीहरूले त्यो चलचित्रमा आबद्ध कलाकारहरू बसेको होटलमै पुगेर आक्रमण गरेको सायमी बताउँछन्।

यो प्रसङ्ग हो राज खोसलाले निर्माण गरेको चलचित्र ‘मेरा गाउँ मेरा देश’को। चलचित्रमा धर्मेन्द्र, विनोद खन्ना र आशा पारेख लगायतका कलाकारहरूले अभिनय गरेका थिए।

‘नेपालका विद्यार्थीहरूले आक्रमण अनि (भारतीय अभिनेताहरू बसेको) होटल नै जलाइदिने धम्की दिएपछि कलाकारहरू स्वयम् विशेष गरेर धर्मेन्द्र, विनोद खन्ना र कबिर बेदीलगायत विद्यार्थीहरू बसेको होटलमा आएर माफी मागे। र त्यो कुरा त्यहीँ सल्टियो,’ सायमी भन्छन्।

तर त्यति बेला भारतमा पढ्दै गरेका विद्यार्थीहरूको सङ्गठन-नेपाल विद्यार्थी युनियनले चिठी पठाएर धर्मेन्द्रले नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको जानकारी नेपालमा गराएपछि अघोषित रूपमा धर्मेन्द्रको चलचित्र बहिष्कार हुन थालेको उनी बताउँछन्।

यो घटनाअघि नेपालमा धर्मेन्द्रका केही चलचित्र चलेका थिए। तर त्यसपछि भने लामो समयसम्म उनका चलचित्र नेपालमा प्रदर्शनमा आउन सकेनन्।

जसकारण शोले, धरमवीर जस्ता निकै चर्चित फिल्म नेपालमा चलेनन्।

‘त्यो चलचित्रको क्रेज (व्यापक उत्साह) भइकन पनि त्यस बेलाको जाँच समिति र अञ्चलाधीश कार्यालयले धर्मेन्द्रको चलचित्रलाई (प्रदर्शनको) स्वीकृति दिन सकेन,’ सायमी भन्छन्।

नेपालमा भारतीय चलचित्रबारे एकजना जानकार विकास रौनियारका अनुसार शोले हेर्नका लागि नेपाली दर्शक बस चढेर नेपाल भारत सीमा नजिकै रहेको रक्सौल लगायतका भारतीय सहर पुगेका थिए।

भिडिओ पार्लरहरू चलेपछि मात्र नेपालीहरूले शोले हेर्न पाएको उनी सम्झन्छन्।

तत्कालीन अधिकारजकुमार धीरेन्द्र वीर विक्रम शाहलाई अपमान गरेकाले नेपाल धर्मेन्द्रको चलचित्र नचलाइएको हल्लाहरू पनि व्याप्त छन्।

नेपालले ‘सुन्न नचाहेको हेमा मालिनीको त्यो आग्रह’

नेपालमा निम्तिएको विवादमा धर्मेन्द्र जोडिएको अर्को घटना पनि छ।

अभिनेत्री नन्दाले दार्जिलिङमा एक चलचित्र छायाङ्कनको क्रममा ‘स्थानीय महिलालाई दुर्व्यवहार गरेपछि’ उनको चलचित्र त्यहाँ बहिष्कार गरिएको बताइन्छ।

दार्जिलिङमा पढ्ने नेपाली विद्यार्थीहरूले पनि नन्दाको चलचित्र बहिष्कार गर्ने निर्णय गरेपछि त्यसको बाछ्छिटा नेपालमा पनि परेको सामयी बताउँछन्।

त्यसबेला नन्दाले अभिनय गरेको ‘हिट’ चलचित्र शोर प्रदर्शन हुने क्रममा थियो। तर विवादका कारण उक्त चलचित्र नेपालमा प्रदर्शनमा आएन।

‘‘त्यसपछि जानि नजानिकन धर्मेन्द्र र नन्दा दुवैको चलचित्र नेपालमा प्रतिबन्धित भयो,’’ सायमीले भने।

यो घटना भएको धेरैपछि धर्मेन्द्रकी पत्नी अभिनेत्री हेमा मालिनी नेपाल आएका बेला एक कार्यक्रममा धर्मेन्द्रले गल्ती नगरेको र उनलाई क्षमा दिन आग्रह गरेको भए पनि दर्शकहरूले हुटिङ गरेपछि उनले धर्मेन्द्रबारे चर्चा छोट्ट्याएको बताइन्छ।

तर समयसँगै धर्मेन्द्रबारे उत्पन्न विवाद मत्थर हुँदै गयो।

अघोषितरूपमा उनका चलचित्रको प्रदर्शनमा रोक लगाइए झैँ अघोषित रूपमै उनको चलचित्र सिनेमाघरहरूमा चल्न थाले।

त्यसको सुरुवात उनको छोटो भूमिका रहेको सन् १९८१मा प्रदर्शनमा आएको चलचित्र ‘खुदा कसम’ अनि ‘नसिब’ नेपालमा प्रदर्शनमा आयो।

विस्तारै काठमाण्डू लगायतका सहरहरूमा सिनेमा हेर्ने माध्यम पनि परिवर्तन हुन थाल्यो।

भिडिओ पार्लरहरू खुले।

क्यासेट ‘प्ले’ गरेर टोल टोलमा चलचित्र हेर्न पाइने अवस्था सृजना भयो।

धर्मेन्द्रका चलचित्रहरू पनि ती पार्लरहरूमा देखाइने गरेको सायमी सम्झन्छन्।

७०को दशकमा क्रान्ति नामक भारतीय चलचित्रको प्रदर्शनलाई पनि नेपालमा रोक लगाइएको जानकारहरू बताउँछन्।

दिलीप कुमार, मनोज कुमार, शशि कपुर, शत्रुघन सिन्हा, विनोद खन्ना, हेमा मालिनी र परबिन बाबी लगायतको अभिनय रहेको उक्त चलचित्र भने त्यसबेला दरबारको हस्तक्षेपका कारण प्रदर्शन हुन नसकेको बताइन्छ।

सायमीको बुझाइ छ- तत्कालीन राजाका सचिव र परराष्ट्र सचिवले क्रान्ति नेपालमा ल्याए नेपालमा पनि क्रान्ति आउने खबर दरबारमा पुर्‍याएपछि नेपालमा प्रदर्शनमा रोक लगाइएको थियो।

ऋतिक रोशन काण्ड जसमा केहीले ज्यानै गुमाए

सन् २०००मा भारतीय चलचित्रमा अभिनेता ऋतिक रोशनको आगमन भयो।

पहिलो चलचित्र ‘कहो ना प्यार हे’ ले प्राप्त गरेको सफलताको चर्चा भारतीय पत्रपत्रिकाहरूमा प्रस्टै देख्न सकिन्छ।

यति सम्मकी त्यस बेलाका सर्वाधिक सफल अभिनेता शाहरूक खानको ‘स्टारडम’लाई समेत रोशनले उछिनेको चर्चित अखबारहरूले लेखेका थिए।

भारतीय चलचित्रका अन्य बजार जस्तै नेपालमा पनि ऋतिक रोशन रातारात स्थापित नाम बनिसकेका थिए।

‘कहो ना प्यार है’ नेपालमा पनि निकै सफल हुन पुगेको भारतीय चलचित्रहरूमध्येमा पर्छ।

सन् २०००को ज्यानुअरीमा एकाएक उदाएका रोशनका लागि त्यो वर्षको अन्त्य भने त्यति सुखद हुन सकेन।

उनी यस्तो विवादमा मुछिए जुन सम्भवतः नेपालमा कुनै पनि चलचित्रकर्मी जोडिएको सबैभन्दा खराब प्रकरण बन्न पुग्यो।

सन् २०००को डिसेम्बर महिनामा घटेको घटना धेरैको मानस पटलमा अहिले पनि ताजै छ।

डिसेम्बर महिनाको २४ तारिखमा सुरुमा चितवनबाट प्रकाशन हुने एक पत्रिकामा ऋतिक जोडिएको एउटा समाचार छापियो ।

चितवन पोस्टको उक्त समाचारमा ‘नेपाल र नेपालीहरू आफूलाई मन नपर्ने’ रोशनले एक अन्तर्वार्ताको क्रममा बताएको दाबी गरिएको थियो।

‘‘तर त्यो समाचारले त्यति तहल्का ल्याएन। त्यो समाचार फोटोकपी गरेर काठमाण्डू पठाइदिए मानिसहरूले र यहाँको एउटा एफएमले दिउसोको समाचारमा त्यो खबर प्रसारण गर्‍यो,’’ सायमीले भने।

लगत्तै त्यसबारे सडकमा प्रतिक्रिया देखिन सुरु भयो। सुरुमा काठमाण्डूको भोटाहिटीको एउटा पोस्टर पसलमा आगनजी भयो।

भारतीय चलचित्रको प्रदर्शनमा रोक लाग्यो, भारतीय च्यानलको प्रसारण बन्द भयो र रेडियोमा पनि भारतीय गीतसङ्गीत बज्न छाड्यो।

र उक्त प्रकरणबारे समाचार व्यापक रूपमा फैलिन थाल्यो।

‘पोलिटिकल चेन्ज एन्ड पब्लिक कल्चर इन पोस्ट नाइन्टीन नाइन्टी नेपाल’ नाम गरेको पुस्तकमा लेख लेख्दै मल्लिका शाक्यले उक्त प्रकरण चर्चा गरेकी छन्।

उक्त पुस्तकमा उनले लेखेको अध्यायमा ऋतिक रोशन प्रकरणसँग जोडिएका घटनाहरूमा नेपालमा पाँच जनाको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएको उल्लेख गरिएको छ।

काठमाण्डूको लैनचौरस्थित भारतीय दूतावासमा ज्ञापन पत्र बुझाउन जान लागेको जुलुसमा प्रहरीले गोली प्रहार गर्दा घरमा खेलिरहेका एक जना बालिकाको मृत्यु भएपछि प्रदर्शन झन् उग्र भएको थियो।

त्यसले प्रदर्शनलाई अझ भड्कायो र विषय ऋतिक रोशनको अभिव्यक्तिभन्दा पनि नेपाल भारत सम्बन्धका विभिन्न आयामहरूमा केन्द्रित हुन थाल्यो।

नेपाल भारत सीमाका मधेसीहरूलाई भारतीय नागरिकको संज्ञा दिँदै दुर्व्यवहार गरिएको विवरणहरू सार्वजनिक भए। काठमाण्डूका सडकहरूमा पनि तराईका बासिन्दाहरूले असुरक्षित महसुस गरेका कैयौँ प्रसङ्ग प्रकाशमा आएका छन्।

‘‘मेरै नाता पर्ने हजुर काकाको ओटुस्थित पसलमा पनि ढुङ्गा मुढा भएको थियो। मधेसी अनुहार, कालो वर्ण भएकामाथि आक्रमण भएको थियो,’’ रौनियारले भने।

अवस्था यति जटिल बन्न पुग्यो कि तत्कालीन भारतीय प्रधानमन्त्रीले भारतका नागरिकहरूको सुरक्षाबारे चासो देखाउँदै आफ्ना नेपाली समकक्षीसँग टेलिफोन वार्ता समेत गर्नु परेको थियो।

खासमा काठमाण्डूसहित देशका प्रमुख सहरहरूमा हिंसात्मक प्रदर्शन हुनुको कारण के थियो त ?

एक भारतीय च्यानलसँगको अन्तर्वार्ताका क्रममा ऋतिकले आफूलाई ‘नेपाल र नेपालीहरू मन नपर्ने’ बताएको विवरण सार्वजनिक भएको थियो ।

के उनले साँच्चै त्यस्तो भनेका थिए ?

त्यसको जवाफ हालसम्म प्रस्ट हुन सकेको छैन। ऋतिकले पछि आफूले त्यस्तो नभनेको र ‘नेपाल र नेपालीहरूलाई भारत र भारतीयहरू जत्तिकै माया गर्ने’ धारणा सार्वजनिक गरे।

नेपालमा उक्त प्रकरणलाई मिथ्या सूचनाको गतिलो उदाहरणका रूपमा पनि हेर्ने गरिएको छ।

नेपाल-भारत मामिलाका जानकार पत्रकार युवराज घिमिरेले केही साता अघि एक भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा प्रमाणबिना स्थानीय अखबारले लेखेको समाचारलाई काठमाण्डू र भारतका पत्रिकाहरूले पनि छापेपछि घटनाले झन् बढावा पाएको बताएका छन्।

सायमीका अनुसार प्रकरण ‘रन्डेवु विथ सिमी गरेवाल’ नाम गरेको अन्तर्वार्ताबाट सुरु हुन्छ।

‘विवाह गरेको केही समयमा ऋतिकले उक्त कार्यक्रममा अन्तर्वार्ता दिएका थिए। जसमा उनलाई प्रश्न सोधियो: तपाईँ हनिमुन मनाउन कुन देश जानुहुन्छ ? उत्तरका लागि तीन वटा विकल्प पनि दिइएको थियो। जसअनुसार ऋतिकले स्विट्जरल्यान्ड, नेपाल र अस्ट्रेलिया वा अस्ट्रियामध्ये कुनै एक देश छान्नुपर्ने थियो,’ सायमीले भने।

तलको दुइटा देश त म जान्न स्विट्जरल्याण्ड जान्छु भनेका हुन उनले ।

त्यसै विषयलाई लिएर ऋतिकले नेपाल मन पर्दैन भनेको भन्दै समाचार प्रकाशन भएको र क्रमिकरूपमा त्यसले विकराल रूप लिएको उनी बताउँछन् ।

तर दिल्लीस्थित साउथ एशियन युनिभर्सिटीकी सहायक प्राध्यापक शाक्यले भने ‘पोलिटिकल चेन्ज एन्ड पब्लिक कल्चर इन पोस्ट नाइन्टीन नाइन्टी नेपाल’ किताबमा प्रस्ट रूपमा रोशनले नेपाल विरोधी, कसलाई, कुन प्रसङ्गमा, के भनेका थिए भन्ने कुरा कसैलाई पनि थाहा नभएको उल्लेख गरेकी छन्।

जानकारहरूका अनुसार नेपाल टेलिभिजनमा ऋतिक रोशनले दिएको प्रस्टीकरण प्रसारण गरिएपछि मात्र उक्त प्रकरण साम्य हुन सुरु भएको थियो।

ऋतिकको कुरा नेपाली सर्वसाधारणसम्म ल्याइपुर्‍याउन अभिनेत्री मनीषा कोइरालाले पनि भूमिका निर्वाह गरेकी थिइन्।

घरवाली बाहरवालीले खडा गरेको बबाल

डेभिड धवनले निर्देशन गरेको चलचित्र ‘घरवाली बाहरवाली’ पनि नेपालमा विवादित बनेको चलचित्र मध्येमा पर्छ। नेपालबारे गलत सन्देश प्रवाह गरिएको विवाद चर्किएपछि उक्त चलचित्र प्रदर्शनमा रोक लगाइएको थियो।

चलचित्रको केही अंश नेपालमा छायाङ्कन गरिएको थियो। त्यसै समय आसपासमा अर्को भारतीय चलचित्र पनि छायाङ्कन भएको थियो – ‘बनारसी बाबु’।

बनारसी बाबुमा गोविन्दा र रामा क्रिशनन् लगायतका कलाकारहरूको अभिनय थियो भने घरवाली बाहरवालीमा अनिल कपुर, रविना टण्डन अनि रम्भा।

सायमीका अनुसार घरवाली बाहरवालीमा ‘नेपालीहरूलाई बदनाम गर्ने’ केही ‘विचित्र’का दृश्यहरू समावेश गरिएको थियो। रौनियार पनि चलचित्रमा नेपालीहरूलाई चित्रण गरिएको विषयबारे विवाद उत्पन्न भएको बताउँछन्।

नेपाली महिलासँग सम्बन्ध भएपछि विवाह नगरे गोलभेँडाले हानेर मार्छन् भन्ने खालका दृश्य उक्त चलचित्रमा देखाइएको थियो।

भक्तपुर दरबार स्क्वायरमा छायाङ्कन गरिएको उक्त दृश्यमा अनिल कपूर र शतिस कौशिकले निर्वाह गरेको पात्रले भिड जम्मा भएको देख्छन्। त्यहाँ के भइरहेको छ भन्ने जिज्ञासा चिर्न उनीहरू भिड अगाडि पुग्छन्।

दरबार स्क्वायरको एउटा स्तम्भमा एक जना व्यक्तिलाई बाँधेर राखिएको हुन्छ। वरपर थुप्रै मान्छे अनि छेउछाउमा गोलभेँडा र अण्डा।

दृश्यमा अनिल कपुरले निर्वाह गरेको पात्रले सोध्छन् – मेरा म्यानेजरलाई किन बाँधेर राखिएको हो ?

उत्तरमा अर्का पात्रले भन्छन् – त्यो व्यक्तिले एक जना नेपाली केटीलाई विवाह गर्ने वाचा गरेर उसको जीवन खराब गरिदियो। र अब नेपाली चलनको हिसाबले उसलाई सजाय दिइँदै छ।

त्यसपछि अर्को पात्रले बाँधिएको व्यक्तिको कपाल खौरिन निर्देशन दिन्छन्। दृश्यमा सजायस्वरूप बाँधिएका व्यक्तिको टाउकोमा गोलभेँडा र अण्डाले हिर्काइने बताइन्छ।

अनिल कपुर र शतिश कौशिकले निर्वाह गरेको पात्र त्यो भिडबाट निस्कन खोज्छन्। उनीहरूलाई रोक्दै कसैले त्यो सब नहेरी निस्कन खोजेको अरूले देखे उनीहरूको पनि परिणाम उस्तै हुने बताइन्छ।

त्यसपछि शतिस कौशिकको पात्रले भन्छ: ‘ए तो बहुत अजिबो गरिब रिवाज है इनकी।’ अर्थात् यो त अचम्मको चलन रहेछ यिनीहरूको।

लगत्तैको दृश्यमा बाँधिएका व्यक्तिको निधारमा म महा पापी हुँ लेखेको देखाइन्छ। त्यसपछि उसको हालत गल्लीको कुकुर भन्दा खराब हुने र हातमा कचौरा लिएर माग्दै हिँड्ने बताइन्छ।

अनि कपूर र कौशिक दुवैले के सोचिरहेको ? यो त चलन हो भन्दै बाँधिएका व्यक्तिलाई अण्डा र गोलभेँडाले प्रहार गर्न थाल्छन्।

यो कथन पछि पनि दोहोरिन्छ।

कपूरको पात्रले नेपाली केटीसँग विवाह गरेको देखाइन्छ। वैवाहिक समारोहबारे भने उनी अनभिज्ञ हुन्छन्।

खासमा कौशिकको पात्रले नेपालीकी रूपमा देखिएकी केटी कपुरलाई मन परेको र उनले ती केटीसँग विवाह गर्ने बताएका हुन्छन् जसकारण कुरा विवाहसम्म पुग्छ।

अनजानमा भएको विवाहपश्चात् कपुरले विवाह भएकी महिलालाई आफू पहिले नै विवाहित रहेको जानकारी दिन्छन्।

तर त्यो कुरा एक जना नेपालीले सुनेपछि फेरि उस्तै परिस्थिति आउँछ जसमा रम्भाले निर्वाह गरेको नेपाली केटीको पात्रको कपाल खौरिन लागिएको देखाइएको छ।

साँचो कुरा थाहा पाएपछि ती महिलाले कपुरमाथि दूर्वयवहार नहोस् भनेर आफूले नै विवाह गर्न नचाहेको बताएकी हुन्छन्।

नेपालको रित अनुसार अब ती महिलाको कपाल खौरिएर विधवा बनाइने कपुरको पात्रलाई जानकारी गराइन्छ।

घरवाली बाहरवालीबारे विवाद उत्पन्न हुँदा नेपालका सिनेमाहलहरूमा उक्त फिल्म प्रदर्शनमा आइसकेको थिएन। त्यसबेला नेपालमा भारतीय चलचित्रहरूको भिडिओ क्यासेट पनि आउने गर्थ्यो।

सायमीका अनुसार त्यसबेला हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रवि लामिछानेले ‘कमन पुल’ नाम गरेको एउटा क्लब सञ्चालन गरेका थिए।

‘त्यसबेला मलाइ लामिछानेको फोन आयो। दाइ यस्तो आयो, हामीलाई बदनाम गरेको रहेछ पिपल बोटमा क्यासेट जलाउने कार्यक्रम छ भनेर,’ सायमी भन्छन्।

नेपालीलाई आपत्तिजनक रूपमा चित्रण गरिएको विषयलाई लिएर लामिछानेसहित प्रकाश सायमी र अशोक शर्मा लगायतले न्यू रोडस्थित पिपलबोटमा भिडिओ क्यासेट जलाएको तस्बिर फोटो पत्रकार समेत रहेका रौनियारले खिचेका थिए।

पिपलबोटमा घरवाली बाहरवालीसँगै बनारसी बाबुको भिडिओ क्यासेट जलाइएको थियो।

त्यसपछि भारतीय दूतावासमा पनि एउटा विज्ञप्ति बुझाइएको र ती चलचित्रको नेपालमा प्रदर्शनमा रोक लागेको सायमी बताउँछन्।

बनारसी बाबुमा पनि नेपाल प्रति व्यङ्ग्य रहेकाले विरोध भएको बताइन्छ।

रौनियारका अनुसार उक्त प्रकरण जनस्तरसम्म भने पुगेन। विरोध मूलभूतरूपमा सिनेकर्मीहरूमा सीमित रह्यो।

माधुरी दीक्षित र अक्षय कुमारले पनि निम्त्याएका थिए विवाद

सन् १९९०को उत्तरार्द्धतिर एउटा चलचित्रको छायाङ्कनका लागि भारतीय कलाकारहरूको टोली नेपाल आइपुगेको थियो। उक्त टोलीमा अभिनेत्री माधुरी दीक्षित पनि थिइन्।

नेपाल बसाइकै क्रममा दीक्षितले नेपाल पनि भारतकै एउटा प्रान्त हो भन्ने आशयको अभिव्यक्ति दिएको बताइन्छ।

उक्त अभिव्यक्ति लगत्तै दुई तीन दिन नेपालमा हुलदङ्गा भएको थियो।

सायमीका अनुसार माधुरी दीक्षित फर्किसकेकाले अमरीस पुरीले माधुरीलाई भूगोलको त्यति ज्ञान छैन म उहाँको तर्फबाट क्षमा माग्छु भन्नु परेको थियो।

‘त्यस बेला प्रदर्शनहरू भए। विद्यार्थीहरूले र्‍याडिसन होटलअगाडि गएर प्रदर्शन गरे। सायद सिनेमाकर्मीहरूले माफी मागेपछि त्यो सामसुम भयो,’ रौनियार भन्छन्।

अक्षय कुमार जोडिएको प्रसङ्ग भने सन् २००९को हो।

उनको चलचित्र ‘चाँदनी चोक टु चाइना’ नेपालमा विवादित बन्न पुगेको थियो। अक्षय कुमार र दीपिका पादुकोण शीर्ष भूमिकामा रहेको चलचित्रमा ‘बुद्ध भारतमा जन्मिएको’ दाबी गरिएको थियो।

शुक्रवारको दिन प्रदर्शनमा आएको चलचित्रको विवादास्पद दाबीबारे आवाजहरू चर्कँदै गएको केही दिनपछि उक्त चलचित्रको प्रदर्शनमा रोक लगाइएको थियो।

त्यसबेला अक्षय कुमारले पनि नेपालमा सन्देश पठाउँदै माफी मागेको सायमी बताउँछन्।

वर्षौँ पछि ‘बेबी’ चलचित्रको छायाङ्कनका लागि नेपाल आएका बेला पनि कुमारले उक्त विषयबारे स्पष्ट पार्ने प्रयत्न गरेको बताइन्छ।

उता गोर्खाल्याण्डको आन्दोलनका क्रममा मिथुनले त्यसविरुद्ध बोलेको कुरा चर्चामा आएपछि केही समयसम्म उनका चलचित्र पनि नेपालमा प्रतिबन्धित भएको बताइन्छ। सायमीका अनुसार मिथुनले कोलकातामा भएको एक कार्यक्रममा त्यस्तो टिप्पणी गरेका थिए।

अर्का प्रख्यात अभिनेता दिलीपकुमारले सन् १९८६मा प्रदर्शनमा आएको ‘कर्मा’ चलचित्रमा बन्दुकको गोलीले भारतको नक्सा बनाउँदा त्यसमा नेपाल पनि समावेश भएको देखिएपछि विवाद उत्पन्न भएको थियो।

नेपालमा विवादित बनेका कारण प्रतिबन्धको सामना गर्ने चलचित्रमा ‘पञ्चवटी’ पनि पर्छ। बासु भट्टाचार्यले निर्देशन गरेको त्यो चलचित्र नेपाल र भारतीको संयुक्त लगानीमा बनेको थियो।

विवाह इतर सम्बन्धको विषयवस्तु समेटिएको कथा नेपालमा अपाच्य भएका कारण चलचित्र प्रतिबन्धित भएको जानकारहरू बताउँछन्।

किन हुन्छ नेपालमा यस्ता घटना ?

नेपाल र भारतबीच लामो खुला सीमा छ। दुई देशबीच सहजै मानिसहरू आवतजावत गर्न सक्छन्। सीमावर्ती क्षेत्रमा वैवाहिक सम्बन्धबाट पनि दुई देशका परिवारहरू जोडिएका छन्।

त्यही प्रगाढ सम्बन्धका कारण पनि चलचित्रका कारण नेपालमा बेला बखत समस्या उत्पन्न हुने गरेको सायमी ठान्छन्।

‘एकदमै भावुक सम्बन्ध छ हाम्रो। हाम्रो सम्बन्ध एकदमै संवेदनशील, सघन र समृद्ध छ। मनीषा कोइरालालाई मोनिषा वा मोनिका लेखिदिए हामीलाई चित्त दुख्छ। तर अरूलाई भने त्यस्तो हुँदैन रहेछ,’ उनले भने।

आदिपुरुषमै पनि सुनको देश भनिने श्रीलङ्कालाई कालो देश जसरी देखाइएको भए पनि नेपालमा जस्तो विरोध नभएको उनको भनाइ छ।

नेपालमा हिन्दी चलचित्रको बजार ठूलो रहेको र भारतीय कलाकारहरूलाई निकै रुचाइने भएका कारण पनि यस्ता घटना घट्ने गरेको कतिपय जानकारको तर्क छ।

हाल भारतीय चलचित्रको विश्व बजारमै बोलवाला छ। न्यु योर्कदेखि लन्डन अनि दुबईदेखि सिड्नीमा हिन्दी चलचित्रको व्यापार निकै ठूलो छ।

तर सिक्किम भारतमा विलय हुनुअघि चलचित्रको पोस्टरमै भारतका निश्चित क्षेत्र र नेपालमा चलचित्र सार्वजनिक हुँदै छ भन्ने कुरा उल्लेख गरिन्थ्यो।

जसले ऐतिहासिक रूपमै भारतीय चलचित्रका लागि नेपालको बजारको महत्त्व कस्तो थियो भन्ने कुरा झल्काउने बताइन्छ।

जानकारहरूका अनुसार नेपालमा व्यापक चर्चा भएका आदिपुरुष जस्ता चलचित्रले झन्डै १६ – १७ करोडको हाराहारीमा ग्रस (कुल) कमाइ गर्ने अनुमान गरिन्छ।

वितरक मनोज राठीका अनुसार नेपालका सिनेमाघरहरूमा हिन्दी चलचित्रको बजार झन्डै ६० प्रतिशत छ।

नेपालमा सर्वाधिक व्यापार गर्ने हिन्दी चलचित्रमा बाहुबलीको दोस्रो भाग, केजीएफको दोस्रो भाग, आरआरआर र पठान रहेको व्यवसायीहरू बताउँछन्।

सायमीका अनुसार बबी चलचित्र प्रदर्शनमा आउन लागेका बेला राज कपुर आफै नेपाल आएर केही समय बिताएका थिए भने प्रकाश मेहरा आफ्नो चलचित्र ५० दिनसम्म प्रदर्शन भएको उपलक्ष्यमा नेपाल आएका थिए।

‘सम्बन्धको घनिष्ठताका कारण हामीलाई बढी चित्त दुख्छ,’ उनले थपे।

भारतीय चलचित्रमा नेपालीहरूलाई ‘हेपाहा प्रवृत्तिबाट चरित्र चित्रण गर्ने गरिएको,’चौकीदार भनेको नेपाली मात्र हुन्छन्’ भन्ने भाष्य निर्माण हुने कामहरू गरिएको जस्ता विषय नेपालमा उठि नै रहन्थे।

तर त्यसको अर्को पाटो राजनीति गर्नेहरूले आफू माथि आउन ‘भारत विरोधी विषयवस्तुलाई बढवा दिएर जनता उचाल्न सकिने हुँदा समय समयमा दुरुपयोग गर्ने गरेको’ रौनियार ठान्छन्।

उनी भन्छन्, ‘चलचित्र कला, क्रिएटिभ (सृजनात्मक) फिक्सन (कल्पना)को कुरा हो। यसमा सबै जना अलिकति लिबरल (उदार) हुनुपर्छ। अहिले नेटफ्लिक्समा कस्ता कस्ता सिनेमाहरू आइरहेका छन् … जसमा अमेरिकी राष्ट्रपतिका व्यक्तिगत कुराहरू … त्यो फिक्सन क्यारेक्टर (पात्र) भएपछि उनीहरूले यसरी चित्रण गर्छन् की … त्यहाँ फ्रिडम अफ एक्सप्रेसन (अभिव्यक्ति स्वतन्त्रतालाई)लाई यति प्रोटेक्सन (रक्षा) दिइएको छ कि हामी कहाँ चाहिँ त्यो फ्रिडम अफ एक्सप्रेसनलाई अलिकति कम्प्रमाइज गर्ने र गलत नियतले पोलिटीसाइज (राजनीतिकरण) गर्दिने भएकाले अरू देशको तुलनामा दुरुपयोग नेपालमा बढी हुन्छ जस्तो लाग्छ।’

-BBC

प्रतिक्रिया