पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालसँग पीएनजी पराजित

काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।
पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । एक समय हारतर्फ अग्रसर नेपाललाई रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाए । उत्कृष्ट सुरुवात गरेको नेपालले ४६ रन जोड्दा नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल १५ रन जोड्दा चाड सोपेरको बलमा आउट भए ।
नेपालले दोस्रो विकेटको रुपमा डेब्यु खेलाडी आसिफ शेखलाई ३० रनमा गुमायो । त्यसपछि नेपालले लगातार विकेट गुमायो । ८२ रन जोड्दा ७ विकेट गुमाईसकेको थियो । तर, टिकेर खेलेका रोहितले ४१ रनको योगदान दिँदै नेपालको जितको आधार तय गरेका थिए ।
यस जितसँगै दुई खेलको सिरिजमा नेपालले १-० को अग्रता बनाएको छ । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेलको सिरिज खेलिरहेको हो ।
प्रतिक्रिया