‘जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो होइन’ (फोटो फिचर)

नेपालखोज २०७८ भदौ २२ गते १८:४८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो नभएको बताएका छन् । मंगलबार नेकपा एमाले कास्कीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् त्यही हो १० बुँदे ।’ पार्टीमा विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमतिमा पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने उल्लेख थियो । त्यसै सन्दर्भमा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

त्यस्तै ओलीले माधव नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीलाई प्युसोको संज्ञा दिएका छन् । उनले भने, “ एउटा अत्यन्तै बेसरम व्यक्तिको नेतृत्वमा अहिले अभियान चलिरहेको छ, नेकपा एमालेलाई समाप्त पार्ने । यतातिर मन्त्रीको पद बेच्न आइरहेको तपाईहरुले पनि सुन्नुभयो होला । एक दुईवटा पार्टीका बिग्रिएका र माधव नेपालको पछि लागेका व्यक्तिहरु यहाँ पनि मन्त्री पद बेच्न आएका थिए । मन्त्री खाइदेउ न, प्रदेशको मन्त्री खाइदेउन भन्दै । खान जन्मिएकाहरु हौ, खाउ ।”

“माधव नेपाल पार्टीमा अड्नै नसक्ने, बस्नै नसक्ने हुन। यो पार्टी नफुटी नसक्ने । जिल्ला, पालिकामा गएर हाम्रो जनप्रतिनिधी छ कि, कार्यकर्ता छ कि कसरी बिग्रान सकिन्छ भनेर लोप्पा दिने । लोप्पाबाहेक उनीहरुसँग राजनीति छैन । मेयरको उम्मेदवार दिएर के गर्ने, जित्ने त एमालेले नै हो,” उनले भने, “कांग्रेस त हामीसँग लड्न आँट गरेको छैन, अब माधव नेपालको प्युसो । उम्रिन पाएको छैन, एमालेसँग मुकाबला गर्ने सपना देख्छ ।”

प्रतिक्रिया