‘एमसीसी संसदमा टेबल भएपछि तत्काल निर्णय गर्छौं’: विष्णु पौडेल

नेपालखोज २०७८ भदौ २३ गते ११:०८

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि तत्काल निर्णय गर्ने बताएका छन् ।

बुधबार (आज) बुटवलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा पौडेलले भने ‘पहिले यो विषय संसदमा आओस् न, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं।’

पौडेलले एमालेमा समस्या नरहेको दावी गर्दै लुम्बिनीमा एमाले विभाजित नभएको बताएका छन् । ‘४० प्रतिशतलाई २० प्रतिशतमा झारेर एमाले विभाजन गर्ने कोशिश गरिएको छ,’ पौडेलले भने, ‘म प्रधानमन्त्री देउवालाई चुनौतिका साथ भन्न चाहन्छु हिम्मत छ भने अध्यादेशलाई निरन्तरता दिनुस् ।’

माधव नेपालले एमाले विभाजन गर्नु दाजुभाइसँग रिस उठेर आमामाथि बन्चरो प्रहार गरेजस्तै भएको पौडेलले टिप्पणी गरे । ‘

उनले आउँदो चुनावमा एमालेले २०७४ को भन्दा राम्रो नतिजा ल्याउने पौडेलले दावी गरे । ‘प्रतिपक्षमा हुँदा पनि एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसकेर सत्ता पक्षले महागठबन्धन गर्दैछ,’ पौडेलले भने, ‘यसले पनि एमालेको शक्ति कति छ भनेर पुष्टि गर्छ ।’

नेकपा हुंदै अध्यक्ष ओलीमाथि लगाइएका १८ बुंदे आरोप नै पार्टी विभाजनको सुरुवात भएको बताउँदै कार्यक्षेत्र बाहिर गएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै उनले सर्वोच्च अदालतको आलोचना गरे ।

यस्तै, एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले दलको कार्यकर्ताको रुपमा भूमिका निभाएको आरोप लगाए । एमाले विभाजन गर्न सभामुखले पदको दुरुपयोग गरेको उनको आरोप छ ।

प्रतिक्रिया