‘एमसीसी सम्झौताबारे तत्काल धारणा बनाउने अवस्था छैन’ (भिडियोसहित)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले एमसीसी सम्झौंताबारे तत्काल धारणा बनाउने अवस्था नरहेको स्पष्ट पारेको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँगको शिष्टाचार भेटमा सत्तारुढ दलहरुको धारणा नआई सो सम्बन्धमा आफ्नो पार्टीले धारणा बनाउने अवस्था नरहेको बताए ।
बिहीबार काठमाडौं आएलगत्तै अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पुगेर उपाध्यक्ष फातिमा नेतृत्वको टोलीले एमसीसीबारे अध्यक्ष ओलीको धारणाबारे चासो व्यक्त गरेकी थिइन् । त्यसको जवाफ दिँदै अध्यक्ष ओलीले सत्तारुढ दलहरुको धारणा आएपछि मात्रै आफ्नो पार्टीले आन्तरिक छलफल गरेर सो सम्बन्धमा आवश्यक निर्णय लिने बताएको भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए ।
अध्यक्ष ओलीले फातिमा नेतृत्वको टोलीलाई दिएको जवाफ उधृत गर्दै उनले भने, ‘हामी अपोजिशनमा छौं । रुलिङ पार्टीको के पोजिशन हो ? त्यो पोजिशन क्लियर गरेपछि मात्रै हाम्रो पोजिशन क्लियर गर्ने कुरा हुन्छ । हिजो गोभरर्मेन्टमा हुँदा हामीले हाम्रो प्रयासलाई अघि बढाएका हौं । आज हामी अपोजिशनमा भएपछि हामीले अपोजिशन पार्टीको हिसावले खेल्ने रोल हामीले खेलिरहेका छौं । त्यो भन्दा बढि गर्नु हतारोको विषय हुन्छ भन्ने हामीले भन्यौ । रुलिङ पार्टीको पोजिशन आएपछि हाम्रो पार्टी भित्र छलफल हुन्छ । त्यसपछि मात्रै हामीले अफिसियल निर्णय गछौं । त्यो विषय नै नआई हामीले हतारिएर निर्णय गर्न मिल्दैन ।’
उपाध्यक्ष फातिमाले लामो समय नेगोशियसन भएर एमसीसी टुंगिएको उल्लेख गर्दै त्यसबारे एमालेको धारणाबारे चासो राख्नु भएको थियो भने अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले सो सम्झौंतालाई अघि बढाउन चाहेको तर अहिले त्यसलाई के गर्ने भन्ने विषय सत्तारुढ दलहरुको निर्णयमा भरपर्ने धारणा राखेकी थिइन् ।
अमेरिकी अनुदान सहायता सम्झौता (एमसीसी)को विषयलाई लिएर नेपाल भित्र विवाद देखिएपछि उपाध्यक्ष फातिमा नेतृत्वको टोली सोही विषयमा छलफल गर्न नेपाल आएको हो । टोलीले नेपाल बसाईको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहितका शिर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया