नेताका भिन्ना-भिन्नै कुरा !

नेपालखोज २०७८ भदौ २५ गते १९:५५

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस भएको प्रतिस्थापन विधेयकले आर्थिक अराजकतालाई नियन्त्रण गर्दै मितव्ययिता कायम गर्ने बताएका छन् । शुक्रबारको संसद बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले आफूले संवैधानिक व्यवस्था अनुसार प्रतिस्थापन विधेयक ल्याएको बताए । उनले बजेट मात्रै बिनियोजन भएको तर कुनै काम नहुने खालको योजनाहरुलाई हटाएको बताए ।

प्रतिस्थापन विधेयकको मुख्य पक्ष आर्थिक अराजकतालाई नियन्त्रण गर्दै मितव्ययिता कायम गर्ने रहेको उनले बताए । अर्थमन्त्री शर्माले आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने दाबी पनि गरेका छन् । उनले भने– निश्चित समयभित्र कोभिड भ्याक्सिन दिइसक्छौँ । र आर्थिक गतिविधिलाई चलायमान भयो भने आर्थिक वृद्धि ७ प्रतिशतमा स्वत्ः पुग्नेछ ।

त्यस्तै, सञ्चारकर्मीमाझ प्रतिक्रिया दिदैँ प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले सभामुखले निर्वाह गर्नुपर्ने न्यूनतम भुमिकापनि निर्वाह नभएको बताएका छन् । उनले संसदमा आज के ल्याएको हो भन्ने पनि आफूलाई थाहा नभएको टिप्पणी गरे । सभामुख अग्निप्रसाद सापकोटाले असमान व्यवहार गरेको र आफुहरुप्रति असहिष्णु व्यवहार गरेको भन्दै उनले सभामुखलाई मान्न नसकिने बताए । सभामुखको गलत कामको आफुहरुले विरोध गरेको उनले बताए ।

त्यस्तै, सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदैँ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई पूर्णता चाडैँ दिने बताए । मन्त्रालय भागबन्डाको कुरा पनि मिलिनसकेको उनले जानकारी दिए । एमसीसीलाई राष्ट्रिय सहमतीको आधारमा मुलुकको हित अनुकुल अगाडी बढाउनुपर्ने उनको भनाई छ । उनले भने– ‘अब चाडैँ नै यसलाई पुर्णता दिने तयारीमा हामी लागेका छौँ । मन्त्रालयको भागबन्डा पनि मिलाउन बाँकी नै छ । एमसीसीलाई राष्ट्रिय सहमतीको आधारमा त्यस विषयमा निर्णय गर्नुपर्छ । र मुलुकको हित अनुकुल अगाडी बढाउनुपर्छ ।’

त्यस्तै, सत्तारुढ दल नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले नेकपा एमालेले संसदीय व्यवस्थाभित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग सांसद थापाले यस्तो बताएका हुन् । उनले जबसम्म नेकपा एमालेले सांसद र सभामुखलाई चिन्दिन भनूनजेल संसदमा यस्तै कोलाहल भइरहने बताए ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद रेखा झाले सभामुख र अर्थमन्त्रीको यो कदम गैरसंवैधानिक रहेको बताइन् । उनले आफूले माइक तानेको प्रसंगमा बोल्दै भनिन्, ‘माइक तान्ने मात्रै होइन, म त टाउको फुटाउने मन थियो, यस्तो गैरसंवैधानिक गतिविधि गर्नु हुँदैन, संसदको एउटा मर्यादा हुन्छ, मर्यादामा राख्न सक्नु भएन । त्यसको हामीले सशक्त बिरोध गर्नुपर्छ । माइकले हान्ने योजनामै माइक तानेको हो, सभामुखलाई, अर्थमन्त्रीलाई हान्ने ध्येय हो ।’

त्यस्तै, नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले सबै दलको सहमतिबिना प्रतिस्थापन विधेयक ल्याइनु राम्रो नभएको बताएका छन् । उनले जनताका प्रतिनिधिको छलफलमा मात्र प्रतिस्थापन विधेयक ल्याइनु पर्ने भन्दै तत्काल पेस गर्नुमा कुनै हतारो नभएको औँल्याए ।

सांसद पाण्डेले भने, ‘प्रतिस्थापन विधेयक ल्याइनु राम्रो कुरो होइन, संसद भित्र सबैको सहमति लिएर रिप्लेशमेण्ट विधेयक ल्याउनु राम्रो हुन्थ्यो, सबैको सरोकारको विषय हो यो, यो जनताका प्रतिनिधिले कुरा ल्याउन पाउँछन्, जनताका प्रतिनिधिले छलफल नगरीकन त्यसमा हामीले अगाडि ल्यायौँ भने प्रिन्सिफ लिभिङ्गको त्यो उचित कुरा होइन, वातावरण बनाएर ल्याउनु पथ्र्यो र त्यो हतारो पनि थिएन, आजको आजै गर्नुपर्ने कुरा पनि थिएन, त्यो विषय लिएर सर्वदलीय छलफल, सहमतिबाट गरेको भए धेरै राम्रो हुन्थ्यो ।’

त्यस्तै नेकपा एमालेकी सांसद गंगा चौधरीले सभामुख र अर्थमन्त्रीको यो भूमिका मर्यादा बाहिर भएको बताइन् । उनले सभामुखले यो भूमिका १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट देशलाई बन्दी बनाउने रणनीतिका साथ खेलेको बताउँदै यसले संसदीय मर्यादाको धज्जी उडेको बताइन् ।

रोस्टममा जान खोजेको पत्रकारको प्रश्नमा सांसद चौधरीले अर्थमन्त्रीलाई बजेट पेस गर्नबाट रोक्नका लागि रोस्टममा जाने ध्येय रहेको बताइन् । उनले प्रमुख प्रतिपक्ष दललाई साथमा राखेर अघि बढ्नुको सट्टा अर्थमन्त्री शर्माले चोरबाटो र जंगली पाराले लुकेर प्रतिस्थापन विधेयक पेश गरेको आरोप लगाइन् ।

प्रतिक्रिया