मंगलबार, वैशाख ११, २०८१

तीर्थ श्रेष्ठका ४ गजल

तीर्थ श्रेष्ठ २०७८ भदौ २६ गते ८:०८

१.
जिन्दगीले भुल्नु पर्ने पलहरु किन सम्झाइदिन्छ
हावामा लहरिएका आँचलहरु किन सम्झाइदिन्छ

खोला सुसाएरै गाइरहेको छ बिरहका गीतहरू
मौनशिविरमा कैद मादलहरु किन सम्झाइदिन्छ

दृश्यहरुमा नअल्झुँ भन्छु म, मन ठेगानमा छैन
बिर्सिएका आँखा र गाजलहरु किन सम्झाइदिन्छ

अतृप्तिको लस्कर छ लामो सगरदेखी सागर झैं
भुल्छु भनेको प्याला र बोतलहरु किन सम्झाइदिन्छ

सुख्खा होस आँखा सहारा मरुभूमि झै सुख्खा
बर्षिन्न भन्दा फेरि बादलहरु किन सम्झाइदिन्छ

२.
आफैसंग बात मार्न पनि बेफूर्सद छन मान्छेहरु शहरमा
आफैलाइ चिमोटेर जीउँदो छु भन्छन मान्छेहरु शहरमा

अक्सिजनको पसल खोलेर पनि व्यापार चल्नेछ जीवनको
संवेदनाको पुरानो कथा सुनेर बाँच्नेछन मान्छेहरु शहरमा

साधनको खोजीमा साधना हरायो हलक्क पाप मौलायो
भोलि रोबोटसंग जोक सुनेर हाँस्नेछ्न मान्छेहरु शहरमा

मान्छेले बनाएका मान्छेकै अनुहारका देवताहरु हराउनेछ्न
अब भयानकका यन्त्रहरुको पूजा गर्नेछन मान्छेहरु शहरमा

सुदूर कतै गाउँमा जब मान्छे हराएकोमा शोकधून बज्नेछ
आँसु किनेर आफ्नो आँखा सजाउनेछन मान्छेहरु शहरमा ।

३.
तिम्रो र मेरो बिर्सनै नसकिने यस्तो कहानी होस
प्यास मलाई होस,अञ्जुलीमा तिम्रो पानी होस

बिहानै उठुँ र आँखाभरी हिमाल राखेर मुस्कुराउँ
त्यही मुस्कानमा तिमीलाई राखेर हेर्ने बानी होस

बसन्तमै मात्र फुल्नु र फक्रनु भन्ने के छ र यहाँ
नदिको लहर झैं फर्की फर्की आउने जवानी होस

स्वर्गको कुरा नगर्नू,संग संगै नरकको नाम आउँछ
आनन्दको उत्कर्ष यहाँ तिम्रो काखको सिरानी होस

भुल्नै नसकिनेलाई सम्झिरहन्छु भन्नुको के मतलब
बिर्सने कुरा पनि बिर्सी दिन्छु ,चाहे देह यो खरानी होस


गुँडमा बचेरा छन ,चरा चाराको खोजीमा
धरती जलेको छ,मान्छे ताराको खोजीमा

साँझपख अस्ताउनु अघि उदास छ घाम
फेरि उदाउनलाइ अर्को सहाराको खोजीमा

जंगल पीठमा बोकेर बसेकोछ यहाँ पहाड
तिर्खाले तप्त छ कुनै छहराको खोजीमा

वर्षौं देखि उभिएको उभियै छ यहाँ रुख
आफूसँग बेरिन आउने लहराको खोजीमा

बाँच्न सकिएन मान्छेको दुष्टताले गर्दा यहाँ
आकाश छ आत्महत्या गर्न पहराको खोजीमा ।

तीर्थ श्रेष्ठ

तिर्थ श्रेष्ठ नेपालखाेजका स्तम्भकार हुन् ।

प्रतिक्रिया