शुक्रबार, चैत १६, २०८०

मेरो ईश्वर

बिमल वैध्य २०८० जेठ २० गते ७:५५

म जन्मेको समयमा
मेरो शरीरमा कपडा थिएन
शब्दहरूको बोली थिएन
मेरो नाम थिएन
मेरो यावत परिचय थिएन ।

म जुन बेला जन्मिए
त्यो समयमा
मेरो धर्म थिएन
मेरो जात थिएन
मेरो थर
गोत्र
संस्कार केही थिएन ।

म जन्मेको घडीमा
सावा/अक्षरको ज्ञान थिएन
भूगोलले बाँधेको नागरिकता थिएन
थिएन राजनीतिको बन्धन
बिचारको बोझ
जीवनको तनाव र हतार
खुसी/बिस्मात केही थिएन ।

म जब जन्मिए
मेरो शरीरमा कपडा थिएन
लाज/घिन थिएन
थिएन शरम पनि
रहरहरू थिएनन्
महत्वाकाङ्क्क्षाहरू थिएनन्
थियो त केवल
एउटा अबोध बाल्यपन ।

म जब जन्मिए
मात्रै जन्मिनुको अर्थ थियो
उत्ति ठुलो परिभाषा पनि थिएन
पुज्नु पर्ने देउराली थिएन
भाक्नु पर्ने
थान, देवी र देउताहरू थिएनन्
ईश्वरलाई त मैले चिनेकै थिइन,
थियो भने ईश्वर कतै
मलाई जन्माउने
उनै मेरी आमाको कोख थियो
उनी नै मेरी ईश्वर थिइन् ।
– बिमल वैध्य, इलाम

प्रतिक्रिया