देउवालाई युवा नेताहरुको चेतावनी- ‘कांग्रेस साझा फूलबारी नै होस्, जबर्जस्ती नगरियोस्’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले कांग्रेस सबै नेपालीको साझा फूलबारी भएकाले समानुपातिक प्रतिनिधित्व बढाउन माग गरेका छन् ।
समानुपातिक प्रतिनिधित्व बढाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा भइरहेको धर्ना तथा आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै युवा नेताहरुले उनीहरुको माग अबिलम्ब सम्बोधन गर्न आग्रह गरेका छन् । डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, किरण यादवले संयुक्त वक्तव्य जारी निर्धारित समयमा चौधौं महाधिवेशनको सुनश्चितताका लागि पाँचबुँदे ध्यानाकर्षण गराएका हुन् ।
देशभरका ५८ जिल्लामा अधिवेशनका प्रक्रियाहरु जारी रहे पनि काठमाडौं, मोरङलगायत १९ जिल्लाको क्रियाशील सदस्यको सूची अहिलेसम्म सार्वजनिक नभएकाले अधिवेशन सुरु हुन नसक्दा देशभर एकैपटक अधिवेशन सुरु हुने परम्परालाई खण्डित तुल्याएको उनीहरुको भनाइ छ ।
‘पार्टी विधान र देशको संविधानमा उपलब्ध समयसीमा नाघ्दासमेत कतिपय जिल्लामा अधिवेशन सुरु हुन नसक्नु साँच्चै दुखद पक्ष हो,’ वक्तव्यमा लेखिएको छ ।
सभापति देउवाको गृहजिल्ला डडेलधुरामा विधि र प्रक्रियाविपरीत केन्द्रबाट थोपरिएका क्रियाशील सदस्यहरु खारेज गरी विधिसम्मत रुपमा जिल्लाबाट पठाइएका क्रियाशील सदस्यहरुको नामावली कायम गरेर मात्र अधिवेशनको प्रक्रिया नियमित गर्नुपर्ने जिल्ला समितिको मागप्रति युवा नेताहरुले समर्थन जनाएका छन् ।
गृहजिल्लामा सभापति देउवाको निर्देशनमा सुरक्षाकर्मीहरुको आडमा अधिवेश गरेकोप्रति आपत्ति प्रकट गर्दै उनीहरुले कहीँ पनि जबरजस्ती नगर्न चेतावनी दिएका छन् ।
वक्तव्यमा लेखिएको छ, ‘देशभर अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि केही जिल्लाको क्रियाशील सदस्यको सूची प्रकाशित नभई वडा अधिवेशनको कार्यतालिका नै प्रभावित हुन पुग्दा सम्बन्धित जिल्लाका साथीहरूले गम्भीर मानसिक तनाव र पीडा झेल्नुपरिरहेको परिस्थितिलाई तुरुन्तै अन्त्य गरी अधिवेशनको प्रक्रिया सुरु गर्न बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यहरुको नामावली अविलम्ब प्रकाशित गरी वडा अधिवेशन सम्पन्न गरियोस् ।’
कांग्रेसभित्र देखिएका घटनाक्रमहरु पार्टी नेतृत्वका घरेलु मामिला मात्र नभई नेपाली कांग्रेसका झन्डै नौलाख सदस्यहरुका साझा मामिला, चिन्ता र सरोकार भएकाले केन्द्रीय समितिको बैठकमार्फत विवादहरुको निरुपण गर्न पनि सभापति देउवासँग युवा नेताहरुको आग्रह छ ।

प्रतिक्रिया