पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोलाई रिहा गर्न कम्युनिष्ट नेताहरुको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कम्युनिष्ट विचारधाराका नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका हुन् ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले गोन्जालो नेपालको कम्युनिष्ट आन्दोलनको पनि प्रेरणाको श्रोत भएकोले उनको रिहाइ गर्नुपर्ने बताए। उनले गोन्जालो गिरफ्तार भएपछि कम्युनिष्ट आन्दोलन नै कमजोर भएको महसुस गरेको बताए।
त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले गोञ्जालोले करिब ३० वर्ष लामो जेल जीवन बिताइरहेकोले पेरु सरकारले तत्काल रिहाइ गर्नुपर्ने माग राखे। उनले गोन्जालोको रिहाइको लागि आइतबार काठमाडौंमा वृहत प्रदर्शन गर्ने पार्टीको कार्यक्रम रहेको पनि जानकारी दिए।
त्यस्तै कार्यक्रममा जनवादी गायक जीवन शर्माले गोन्जालो संसारभरका क्रान्तिकारी नेताहरुको र सर्वाहारा क्रान्तिको हिरो भएकोले उनको तत्काल रिहाइ हुनुपर्ने बताए। उनले अहिले उनि प्रतिक्रिया र साम्राज्यवादीहरुको पिञ्जडामा रहँदा पनि साम्राज्य र सामन्तवादका अघि नझुक्ने शिर बोकेर बसेको बताए।
जनवादी गायक शर्माले गोन्जालो प्रेरणाको श्रोत भएको र आफूलाई क्रान्तिका गीत गाउन पनि गोन्जालोबाट प्रेरणा मिलेको बताए । उनले गोन्जालोलाई जेलमा थुने पनि उनको क्रान्ति, सोच र विचार विश्वका कम्युनिष्टहरुबाट नहराउने बताएका छन् ।

प्रतिक्रिया