‘क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भयाे’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले पेरु कम्युनिस्ट पार्टीका नेता अबिमाइल गुजम्यान (गोन्जालो) को निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् । उनले सामाजिक सन्जालमार्फत यो धारणा सार्वजनिक गरेका हुन् ।
प्रचण्डले गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक बनेको भन्दै उनको निधनमा श्रद्धाञ्जली प्रकट पनि गरेका छन् ।
दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको हो ।
उनले सन् १९९२ देखि आतङ्कवाद र देशद्रोहको अभियोगमा आजीवन कारावास भोगिरहेका थिए । उनी पेरुको क्रान्तिकारी समूह साइनिङ्ग पाथका नेता तथा संस्थापक थिए । गएको जुलाईमा उनलाई स्वास्थ्य समस्या देखिएपछि जेलबाट अस्पताल लगिएको थियो ।
पेरुमा एक दशकभन्दा लामो समय माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबीच चलेको युद्धको क्रममा झण्डै ७० हजार मानिस मारिएका थिए । गुजम्यान पक्राउ परेपछि साइनिङ्ग पाथलाई गम्भीर धक्का लागेको थियो । तर अझै पनि त्यस समूहका केही सदस्यहरु सक्रिय छन् ।

प्रतिक्रिया