‘भन्सार विन्दुहरुमा चाँडै भेहिकल स्क्यानर जाेड्नू’

नेपालखोज २०७८ भदौ २७ गते १६:०३


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले मालवस्तुको वर्गिकरण र मूल्याकंनमा इमान्दारिता कायम गरी राजश्व संकलन वृद्धि गर्न कर्मचारीहरुलाई आग्रह गरे । कार्यक्रममा अर्थसचिव मधु कुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गरे ।

सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा जोड दिए । उनले सरुवाको लागि कुनै पनि दल, नेता वा संगठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिए । सरुवाको लागि फोन गराई दवाव सृजना गर्ने कर्मचारीहरुको माग सुनुवाइ नहुने स्पष्ट पारे ।

राजश्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए । उनले सेवाग्राहीका गुनासाहरुलाई तत्काल सम्बोधन गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरुको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएकोमा सरकारलाई धन्यवाद दिए ।

उनले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाव समेटिएको भन्दै खुशी व्यक्त गरे । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नको लागि कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा जोड दिए ।

भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले लक्ष अनुसारको राजश्व संकलन गरिने प्रतिवद्धता व्यक्त गरे । उनले सदाचारलाई शिरमा तथा राष्ट्रहितलाई छातीमा राखेर काम गर्न मातहतका कार्यालय प्रमुख तथा कर्मचारीहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया