‘सभामुखले हाम्राे दलमाथि भेदभाव गरेकाले संसद् अवरुद्ध पार्नुपर्‍याे’

नेपालखोज २०७८ भदौ २७ गते १७:५२

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले प्रतिनिधिसभा बैठक सुरु गराउन अझै पहल नगरेको भन्दै सत्तापक्ष र सभामुख दुवैप्रति आक्रोश व्यक्त गरेका छन् ।

पूर्वसभामुखसमेत रहेका उपनेता नेम्वाङले सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद अवरुद्ध पार्नु परेको स्पष्ट पार्दै त्यो स्थिति कहिलेसम्म अन्त्य हुन्छ ? भनि प्रश्नसमेत गरे ।

आइतबार संसद् भवन परिसरमा उनले संसद अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन पनि संञ्चारकर्मीहरुलाई आग्रह गरे ।

उपनेता नेम्वाङले भने, ‘संसद् बैठक अवरुद्ध हुने यो स्थितिलाई कहिलेसम्म कायम राख्नुहुन्छ ? कहिलेसम्म प्रतिपक्षलाई हामीप्रति भेदभाव भइरहेको छ । त्यो भेदभावको स्थिति कहिले अन्त्य हुन्छ भनेर प्रतिपक्षले महसुस गर्ने कहिलेसम्म हो ? यस्तो भईरहँदा पनि सत्तापक्ष र सभामुखले अहिलेसम्म अलिकति पनि कुरा नगरीकन, छलफल नगरीकन बसी राख्न सक्नुहुन्छ ?

उपनेता नेम्वाङले माधवकुमार नेपालसहितका आफ्ना पार्टीले निष्काशन गरेका १४ जना सांसदहरुको सूचना संसद सचिवालयमा टाँस नगरुन्जेल अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन नसक्ने पार्टीको अडान समेत दोर्‍याए ।

प्रतिक्रिया