‘बालबालिकालाई जिम्मेवार नागरिक बनाउनु राज्यको दायित्व’

नेपालखोज २०७८ भदौ २९ गते ९:५२

काठमाडाैं । राष्ट्रिय बाल दिवसका अवसरमा आज (मंगलबार) देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइन्छ । ५७औं राष्ट्रिय बाल दिवसको नारा ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने छ ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकाे अवसरमा यो दिवस मनाइन्छ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई भविष्यका जिम्मेवार नागरिक बनाउनु राज्यको दायित्व भएको भन्दै शुभकामना दिएकी छन् । उनले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न तीन तहका सरकार, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको उल्लेख गरिन् । यस्तै बालबालिकालाई महामारीबाट सुरक्षित बनाउँदै बालअधिकारको संरक्षणमा आ–आफ्नो भूमिका निभाउन अनुरोध गरेकी छन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा सरकार पूर्ण प्रयासरत रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको उल्लेख गरेका छन् । प्रदेश सरकार तथा स्थानीय सरकारहरूले बालअधिकार संरक्षण गर्ने कामहरु प्राथमिकताका साथ लागु गरिरहेको बताएका छन् ।

प्रतिक्रिया