निपा भाइरसको संक्रमणबाट बच्न सरकारको अपिल

नेपालखोज २०७८ भदौ २९ गते १७:१६

काठमाडौं । सरकारले निपा भाईरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राण घातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गरे ।

मंगलबार संचारकर्मीसँगको कुराकानीका क्रममा प्रवक्ता पौडेलले निपा भाइरस प्राण घातक भएको भन्दै कसैले पनि हेलचेक्राइँ गर्नु नहुने बताए । उनले निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकोले यसबाट बच्न सबै सचेत र शतर्क हुनुपर्ने बेला आएको बताए ।

प्रवक्ता पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट) बाट पशुमा र पशुबाट मानिसमा सर्ने बताए । निपा भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पुर्याउने र बेहोस बनाउने गरेको बताउँदै प्रवक्ता पौडेलले पशुपंक्षीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरु असावधानीवश पनि नखान आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयले निपा भाइरस प्राण घातक भएकोले पूर्णरुपमा स्वास्थ्यका मापदण्ड अपनाइ सचेत, सजग हुन र यस सम्बन्धी लक्षण देखिए तत्काल स्वास्थ्यचौकी गएर डाक्टरलाई देखाउन आग्रह गरेको छ । प्रवक्ता पौडेलका अनुसार श्वासप्रश्वासको समस्या, सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, एकदम छिटो अचेत हुने, कोमामा जाने जस्ता समस्या छिटो–छिटो देखापर्ने र कम्पन आउने निपा भाइरसका मुख्य लक्षण हुन् ।

यो प्राणघातक भाइरस प्राकृतिक रुपमा फलफूल बढी खाने चमेरा (फ्रूट ब्याट) बाट पशुपंक्षी हुँदै मानिसमा सर्छ । साथै संक्रमित मानिसमाबाट अन्य मानिसमा पनि यो भाइरस सर्ने गर्दछ । निपा भाइरस विशेष गरी शरीरको र्‍याल, दिशापिसाव लगायतको तरल पदार्थबाट सर्ने गर्दछ । निपा भाइरस विश्वमा पहिलोपटक सन् १९९९ मा मलेसियाको बंगुर फार्ममा भेटिएको थियो ।

प्रतिक्रिया