देश र जनताका लागि राजनीति गरेको हुँ : भीम रावल

नेपालखोज २०७८ भदौ ३१ गते १०:२६

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन् ।

गृह जिल्ला अछाम जाने क्रममा आज पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको बताए । राजनीति गर्दा देश र जनतालाई बिर्सियो भने त्यो कदापि काम नलाग्नेसमेत उनले बताए ।

आफुले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत भएको बताउदै उनले पार्टी फुटाउने नभई पार्टी एकतालाई जोड दिनतर्फ अग्रसर भएको बताए ।

यस्तै उनले माधवकुमार नेपालको पार्टीको विधान मस्यौदा तयार गर्ने आफू रहेको भन्ने कुराको पनि खण्डन गर्दै उक्त हल्लामा कुनै सत्यता नरहेको जानकारी गराए ।

नेता रावलले अहिलेको जटिल परिस्थितिमा एमालेप्रति चिन्ता व्यक्त गर्ने सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकले पार्टी एकता प्रक्रियालाई अझै सशक्त बनाउन सबैलाई एकताको सन्देश दिन आग्रहसमेत गरे ।

उनले अहिलेको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने र दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुने कुरा भएको बताए । – रासस

प्रतिक्रिया