‘कर्मचारीलाई नयाँ संंविधान पढाउनुपर्ने बेला आयाे’

नेपालखोज २०७८ भदौ ३१ गते १३:२९

काठमाडाैं । जिल्ला समन्वय समिति भक्तपुरको वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका चारवटा नगरपालिकाले आर्थिक वर्ष २०७७-७८ मा सम्पन्न गरेका आयोजनाका विवरण प्रस्तुत गरेका छन् ।

जिससमा आज (बिहीबार) भएको आव २०७७-७८ को वार्षिक समीक्षा गोष्ठीमा चारवटै नगरपालिकाको प्रस्तुतिपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले स्थानीय तहले अरुको अस्तित्व स्वीकारे मात्रै सङ्घीयता पूर्ण रुपमा कार्यान्वयनमा आउने बताए ।

नगरपालिकाले जिसस, प्रदेश सरकार र सङ्घीय सरकारलाई नस्वीकार्ने हो भने सङ्घीयता प्रभावकारी कार्यान्वयनमा आउन नसक्ने बताउँदै स्थानीय तहले सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गर्नुपर्ने उनले बताए ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले विगतको जिल्ला विकास समिति र अहिलेको जिल्ला समन्वय समिति फरक रहेको भन्दै संविधानले स्थानीय तहलाई दिएको २२ वटा अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताए ।

स्थानीय तह स्थानीय सरकार भए पनि कर्मचारीको बलमा अहिले पनि स्थानीय सरकारलाई नस्वीकार्ने र पुरानै ढर्रामा लैजान खोज्दा अन्तरविरोध रहिरहेको भन्दै कर्मचारीलाई नयाँ संंविधान पढाउनुपर्ने बेला आएको टिप्पणी गरे ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जिससलाई संविधानले नै समन्वायत्मक भूमिका निर्वाह गर्ने जिम्मेवारी दिएको बताए । उनले सङ्घीय, प्रदेश र स्थानीय तह एकअर्काको परिपूरक भएको भन्दै यसलाई कार्यान्वयन गर्न नसके सङ्घीयता कार्यान्वयनमा आउन नसक्ने बताए ।

उनले पाँच वर्ष अगाडिको भक्तपुर र अहिलेको भक्तपुरको स्तर कति उकासियो, जनताको जीवनस्तर कति उकासियो, मूल्याङ्कन गर्ने बेला आएको भन्दै चारवटा नगरपालिका विकासमा एकै ठाउँ नउभिँदा धेरै विकास गुमेको टिप्पणी पनि गरे ।

गोष्ठीमा भक्तपुर नगरपालिकाका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले वार्षिक प्रगति पेश गरेका छन् । नगरपालिकापछि जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुले प्रस्तुति दिनेछन् । रासस

प्रतिक्रिया