मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक : कानुनमन्त्री कार्की

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन् । शुक्रवार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री कार्कीले एमसीसी मुलुकको विकास र समृद्धिका लागी आवश्यक रहेको बताए ।
उनले दलीय खिचातानीले एमसीसी ओझेलमा पर्ने सम्भावना बढाएको भन्दै जसरी भए पनि संसदबाट पास गराउनु पर्ने बताए । उनले एमसीसी बिकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने उल्लेख गरे । एमसीसी संसदबाट पास गराउनको लागि सबैबीच सहमतिको खाँचो रहेको उनले औल्याए ।
मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद् बैठकले बजेटको विषय अघि बढाउने बताए । संसदभित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उनले केहि दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गरे । कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट स्थापना भएको कार्यालयले मानव – वन्यजन्तु द्धन्द्ध व्यवस्थापनका साथै संरक्षण तथा सम्भाव्यता अध्ययनका विषयमा काम गर्ने बताइएको छ ।

प्रतिक्रिया