शुक्रबार, वैशाख १४, २०८१

यस्तो हुन्छ कोभिडको दीर्घकालीन असर

डा. हेमराज कोइराला २०७८ असोज २ गते ८:१३

दम, खोकी र श्वासप्रश्वासमा समस्या : कोभिड–१९ लाई जितेर हस्पिटलबाट घर फर्किएकाहरूलाई दम बढ्ने, खोकी लाग्ने र श्वास फुल्ने जस्ता समस्याहरू देखा पर्छ । यसो हुनुमा कोरोना संक्रमणका क्रममा विकसित भएको निमोनियाँ, ब्रोङकाइटिस र श्वास मार्गको इन्फ्लामेसन हो ।

कमजोरी : कोभिड लागेर घर फर्किएकाहरू मध्ये धेरैले कमजारीको सिकायत गरेका छन् । त्यसमा पनि आईसीयूमा बसेका वा भेन्टिलेटरमा रहेकाहरूलाई अक्सर कमजोरी देखापर्छ । विशेषगरी भेन्टिलेटरमा राखिएकामध्ये ३३ प्रतिशतलाई यो कमजोरी देखापर्छ । यो एक वर्षसम्म रहन सक्छ । यसरी देखापर्ने कमजोरीको कारण भनेको आईसीयूमा लामो समयसम्म नचली बस्दा र अचेत वा अर्धचेत हुँदा वा कडा संक्रमण पश्चात विकसित भएको पोलीन्यूरोपथी हो जसले मांशपेशीलाई समेत कमजोर बनाउँछ ।

जिउ दुख्ने : जिउ दुख्नुको कारण पनि कोभिडपश्चात विकसित हुने पोलिन्यूरोपथी नै हो । यसका अलावा कोभिड हुँदाका बखत उत्सर्जीत भएको प्रोइन्फ्लामेटरी साइटोकाइन्सहरूको रक्तस्तर कम नहुनाले पनि हो ।

थकान : लक्षणसहितको कोभिड–१९ लाई जीतेर घर फर्किएकाहरू माध्ये अधिकांशलाई शारीरिक कमजोरी र दीर्घकालीन थकाइले सताएको पाईएको छ । त्यसमा पनि आईसीयू र भेण्टिलेटरमा बसेर फर्किएकाहरू त स–साना शारीरिक श्रम र व्यायम गर्दा पनि थाक्छन् । यसोहुनुको मूख्य कारण कोभिडसँगको लाडाईका दैरान उत्पन्न हुन गएको उर्जा असन्तुलन मानसिक तनावलाई मानिएको छ । यस्तो थकान ईप्टिनबार भाइरस र सार्स जीत्नेहरूमा पनि देखिएको थियो ।

टाउको दुखाई : कोरोना भाइरस रोगले प्रताडित गरेकाहरू मध्ये धेरैलाई टाउको दुख्ने समस्याले सताएको हुन्छ । टाउको कोभिड पश्चात उत्पन्न भएको तनाव, चिन्ता भय उदासिनता, अनिन्द्रा र कमजोरी आदिको कारणले पनि उत्पन्न भएको हुन सक्छ । यसैगरी कोभिड–१९ ले मस्तिष्क वा टाउकाको नशाहरूलाई पनि असर गरेको रहेछ भने पनि न्यूरोलोजीको कारणले टाउको दुख्न सक्छ ।

फोक्सोलाई क्षति : कोरोना भाइरसले मूख्य असर गर्ने अंग फोक्सो नै हो । संक्रमण अली तिब्र प्रकारको भए फोक्सो र मुटुलाई क्षति पुर्‍याउन सक्छ । कोभिड संक्रमण हुँदा फोक्सोमा इन्फ्लामेसन हुन्छ । इन्फ्लामेसन हुँदा संक्रमित क्षेत्रमा रातो, तातो भई दुख्नु, सुन्निनु र उक्त अंगले काम नगर्दै जान्छ । उक्त स्थान सुन्निदा सो स्थानमा पानी पनि जम्न जान्छ र न्योमोनीया पनि देखा पर्छ । यो घटनाक्रम फोक्सोबाट मुटु, मृगौला, कलेजो र मस्तिष्कमा पनि सर्न सक्छ र भाइरस त्यहाँ पुगेर ती अंगहरूलाई पनि ड्यामेज गर्न सक्छ ।

श्वास प्रश्वासमा समस्या, रूघा, खोकी, घाटी खसखसाउने : रूघा, खोकी, घाटी दुख्ने खसखसाउने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण कोभिडका आधारभूत लक्षणहरू हुन् जुन पीसीआर नेगाटीभ आएपछि पनि बसिरहन सक्दछ । त्यसमा पनि आईसीयू बसेका र भेण्टिलेटरमा राखिएकाहरूलाई त यी लक्षणहरूले अलि बढ्तै चाप्छ । कोभिड–१९ पछि दम बढ्ने, श्वास फुल्ने, खोकी लाग्ने जस्ता यी श्वास–प्रश्वासमा देखापर्ने यी समस्याहरूको कारण कोभिडले जीर्ण बनाएको फोक्सो मुटु हुनसक्छ ।

जोर्नी दुख्ने : कोभिडपश्चात हुने जोर्नी दुखाइ पनि हाम्रो जीवनको गुण कम गरिदिन्छ । यसो हुनुको मूख्य कारण कोभिड हुँदा आईसोलेसन बस्दा अपनाईएको जीवन शैली हो । अझ आईसीयूमा राखिएको विरामीलाई त जोर्नी र जीउ दुख्ने समस्या अझ धेरै हुन्छ । यसका अलावा रोग अलि धेरै संक्रामक भए जोर्नीका तन्तुहरूमा पनि प्रभावित भई जोर्नीमा क्षति पुगेको पनि हुनसक्छ ।

छाती दुख्ने : कोभिड-१९ पश्चात हुने छाती दुख्ने समस्याको मुख्य कारण कोभिडको कारणले फोक्सो वा मुटुलाई पुगेको क्षतिका कारणले हो । यसैगरी कोभिडपश्चात् पनि कफ जम्ने, दम फुल्ने, फोक्सोको संक्रमण भईरहने जस्ता स्मस्या रहिरहने हुँदा छाती दुख्ने गर्छ ।

तनाव, चिन्ता, भय र उदासीनता : कोभिड–१९ का कारणले आईसीयू बस्नु परेका वा आपतकालीन सेवा लिनु परेकाहरूमा कोभिडपश्चात पनि कोभिडको तनाव चिन्ता र भयले सताइरहेको हुन्छ फलत: विस्तारै निराश हुँदै जाने र उदासीनताको सिकार बन्न पुग्छ । कोभिडपश्चात हुने यी समस्याको मुख्य कारण कोभिडलाई हाउगुजी करण गर्नाले नै हो । यसका अलावा कोभिड संक्रकणका कारण पुगेको क्षतिले निम्त्याएको पोस्ट-ट्रमाटिक-स्ट्रेस-डिसअर्डरका कारणले गर्दा पनि यो समस्या देखापर्दछ ।

अनिन्द्रा : कोभिड संक्रमणपश्चात पनि कोभिडका कारणले उत्पन्न तनाव, चिन्ता, भय, उदासीनता, नैराश्यता, पोस्ट–ट्रमाटिक–स्ट्रेस-डिसअर्डर र विभिन्न अंगहरूलाई पुगेको क्षतिका कारणले कोभिड जितेपश्चात पनि अनिन्द्राको समस्या रहन सक्दछ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया