शनिबार, वैशाख १५, २०८१

शैक्षिक संस्था मात्रै बन्द नगरौं ! (भिडियोसहित)

नारायण सिटौला २०७८ वैशाख ५ गते ७:४३

अहिलेको अवस्थामा कोभिड-१९ को महामारीले सम्पूर्ण क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । विशेष गरेर शिक्षा क्षेत्रमा यसले अझ बढी नकारात्मक प्रभाव भएको मैले महसुस गरेको छु । गएको वर्ष चैत ११ देखि नेपालमा लकडाउन सुरु भएको थियो । त्योभन्दा अगाडि नै विद्यालयहरु चैत ६ गतेदेखि सम्पूर्ण शैक्षिक गतिविधि बन्द भएका थिए । हामी नेपालीहरुले झन्डै एक वर्ष यो परिस्थितिलाई भोग्नुपर्‍यो । यसबाट विभिन्न क्षेत्रमा नकारात्मक असरहरु परेको यहाँहरु सबैलाई अवगत नै छ । त्यसमा पनि म शिक्षा क्षेत्रमा आबद्ध भएका हिसाबले एउटा शिक्षक अथवा एउटा कलेजको प्राचार्य भएको हिसाबले मैले जे अनुभव गरें म यहाँहरुसमक्ष अलि-अलि बाँड्न गर्न चाहन्छु, अनुभव साट्न चाहन्छु, यहाँलाई पनि आफ्नो अनुभवहरु सेयर गर्न चाहन्छु ।

पक्कै पनि कोभिड-१९ ले विभिन्न क्षेत्रमा यसका असरहरु परेका छन् । शिक्षा क्षेत्रमा सबैभन्दा बढी असर परेको छ । विद्यार्थी भाइबहिनीहरुलाई झन्डै एक वर्षसम्म घरका चारकिल्लाभित्र राखेर बसाइयो । त्यसबाट हामीले विद्यार्थी भाइबहिनीहरुमा पर्न गएको मानसिक असरहरु कस्ता छन् भन्ने कुरालाई मनन गर्नुपर्छ । हो निश्चय नै कोभिड-१९ ले सबै क्षेत्रमा धराशायी पारेको छ । यातायात व्यवसाय, पर्यटन क्षेत्रलगायत सम्पूर्ण व्यवसायीहरुलाई यसले असर पारेको छ । प्रभावित व्यवसायीहरुलाई हामीले फेरि पुन:स्थापना गर्न सक्छौं तर शिक्षा क्षेत्रको एक वर्षको घाटा पूर्ति गर्न भने गाह्रो छ । यो ठूलो क्षति हो, राज्यलाई पनि धेरै क्षति पुगेको छ । अहिले फेरि लकडाउनको कुराहरु आइराखेको छ, स्कुल कलेजहरु बन्द गर्ने कुराहरु आइराखेका छन् । यसमा भने मेरो असहमति छ ।

हामीले विद्यार्थीहरुलाई मात्रै कारकका रूपमा लिनुभएन, यसका धेरै कारणहरु छन् । यदि हामीले साँच्चै नै कोभिड-१९ को ‘चेनब्रेक’ गर्ने हो भने हामीले धेरै गतिविधिहरुलाई नियन्त्रणमा राख्नुपर्छ । अहिले सम्पूर्ण गतिविधिहरु खुला छन् । विशेषगरी राजनीतिक गतिविधिहरु एकदमै खुला छन् । राजनीतिक पार्टीका कार्यक्रमहरु भइराखेका छन्, दिनहुँजसो हजारौं भिड भइरहेका छन् । कार्यकर्ताहरु सडकमा छन् । अहिले राजनीति कार्यकर्ताहरु, पार्टीका गतिविधिहरु सडकमा गर्ने बेला यो होइन । किनभने अहिले चुनाव पनि आएको छैन हामी नेपाली जनताले धेरै समयपछि एउटा अस्थिरताबाट स्थिर सरकार निर्माण गर्ने अवसर पाएका थियौं । तर, राजनीतिक पार्टीका केही व्यक्तिगत स्वार्थका कारणले गर्दा पार्टीबीचमा असहमत हुँदा उनीहरुका निजी स्वार्थका कारणले गर्दा अहिले देश फेरि अस्थिरतातर्फ धकेलिएको छ । यसले वास्तवमा कोभिडलाई नियन्त्रण गर्न सबैभन्दा पहिला राजनीतिक गतिविधिहरू हामीले बन्द गर्नुपर्छ । दिनहुँजसो हजारौं कार्यकर्ताहरु सडकमा छन्, र्‍यालीहरु भइराखेका छन् । यद्यपि मन्त्रीहरुले पनि आफ्ना कार्यकर्ताहरुलाई सडकमा उतारेका छन् । त्यसैले यो गतिविधिलाई सरकारले पहिला बन्द गर्नुपर्‍यो । राजनीतिक गतिविधिहरुलाई हामीले बन्द गर्न सक्यौं भने कोरोना नियन्त्रणमा सहज हुने देखिन्छ ।

अर्को प्रमुख कारण भनेको हाम्रा देशका चारैतिरका नाकाहरु खुला छन् । सुरक्षा बलहरु परिचालन गरी सीमामा सुरक्षा बढायौं भने अथवा त्यहाँ हेल्थ डेस्क राखेर, क्‍वारिन्टिनहरु बनाएर भारत तथा चीनबाट आउने व्यक्तिहरुलाई हामीले नियन्त्रण गर्न सक्यौं भने पनि धेरै सफलता हासिल गर्न सकिन्छ । कोरोना फैलिनुको कारण मानिसहरुलाई निर्वाध रुपमा आवतजावत गर्न दिइएकोलाई पनि लिन सकिन्छ । साथै हामीले विदेशबाट आएका व्यक्तिहरुलाई निर्वाध रुपमा आवतजावत गर्न दिनुभन्दा पनि निगरानीसहितको नियन्त्रण गर्दा कोभिड-१९ फैलने सम्भावना कम हुन्छ ।

अन्तर्राष्ट्रिय विमानस्थल पनि निगरानीमा राख्‍नुपर्‍यो । यस्तै धार्मिक गतिविधिहरु पनि नियन्त्रण गर्न सके कोरोना फैलिने सम्भावना पनि घट्छ । अहिलेको विषम् परिस्थितिलाई मनन् गरी धार्मिक गतिविधि तथा महत्त्वका जात्राहरु हामीले एक वर्षजति घरभित्रै बसेर मनाउन सके प्रभावकारी हुने देखिन्छ । केही विज्ञहरुको ध्यानचाहिँ विद्यालय बन्द गर्न पाए कोभिड नियन्त्रण हुन्छ भन्ने लागेको छ । तर मलाई यसमा विश्वास छैन । हो पक्कै पनि कोभिडलाई नियन्त्रण गर्नुपर्छ । यसको नियन्त्रणका लागि शैक्षिक संस्था मात्रै बन्द गरेर समाधान हुनेवाला छैन । यसको चेन ब्रेक गरेर राजनीतिक गतिविधि बन्द गर्नुपर्‍यो, खुला सीमा नियन्त्रण गर्नुपर्‍यो, अन्तर्राष्ट्रिय विमानस्थल नियमन गर्नुपर्‍यो, धार्मिक गतिविधिहरु भिडमुक्त बनाउन सके कोभिड नियन्त्रणमा केही सहयोगी बन्नेमा पक्का छ ।

यसैगरी ठूला सहरका ठूला पसल-मलहरु निर्वाध चलिरहेका छन्, तिनमा नियन्त्रण हुनुपर्‍यो । सार्वजनिक सवारीका साधनमा हुने यात्रुको भिड, पार्टी-भोजका लागि पार्टी प्यालेसहरुमा हुने जमघट नियन्त्रण गर्नुपर्ने देखिन्छ । तर, शैक्षिक संस्थाहरुले मात्र कोरोना फैलायो भन्नु उचित देखिँदैन । हामीले शैक्षिक क्षेत्रबाहेकका भिड हुने गतिविधिहरु नियन्त्रण र निगरानी गर्नुपर्दछ, त्यसमा सरकारको ध्यान जान जरुरी छ ।

यसमा मुख्य जिम्मेवारी भनेको सरकारको विशेष भूमिका रहन्छ । त्यसैगरी राजनीतिक पार्टीहरूको पनि महत्त्वपूर्ण जिम्मेवारीहरू छन् । सम्पूर्ण आमनागरिकहरूमा म भन्न चाहन्छु- हामीले यो विगत आठ महिनामा शैक्षिक गतिविधिहरु ठप्प बनायौं । भौतिक रुपमा शैक्षिक गतिविधिहरु हुन पाएनन् तथापि हामीले अनलाइनमार्फत कक्षाहरु सञ्चालन गर्‍यौं । अनलाइनमार्फत कक्षाहरु सञ्चालन गर्दा सम्पूर्ण अभिभावकहरु र विद्यार्थीहरु इन्टरनेटको पहुँचमा नहुन सक्नुहुन्छ । काठमाडौं उपत्यकाभित्र पनि त्यस्ता धेरै सरकारी, निजी विद्यालयहरु छन् जसले अनलाइनमा कक्षाहरु सञ्चालन गर्न सकेका छैनन् ।

त्यसैले केही सीमित निजी विद्यालयहरु जसले अनलाइनमा कक्षाहरु सञ्चालन गर्न सक्नुहुन्छ, केही सरकारी विद्यालयहरुले पनि अनलाइनमार्फत कक्षा सञ्चालन गर्न सक्नुहोला । तर पनि अनलाइन कक्षाहरुलाई हेर्ने हो भने धेरै प्रभावकारी रूपमा रहेको पाइएन । अनलाइन कक्षाहरु त हामीले पनि सञ्चालन गर्‍यौं । तर, जति हामीले भौतिक कक्षाहरु सञ्चालन गर्छौं, शैक्षिक गतिविधिहरु सञ्चालन गर्छौं, यो अनलाइन कक्षाहरु भने त्यति प्रभावकारी नभएको हामी शिक्षकहरु तथा अभिभावकहरुले महसुस गरेकै छौं । त्यसैले अब विद्यार्थीहरूको भविष्यको कुरा छ, एक वर्षसम्म शैक्षिक गतिविधिहरु ठप्प हुनु भनेको यसको क्षतिपूर्ति हामीले कुनै पनि हालतमा पूरा गर्न सक्दैनौं । अन्य क्षेत्रमा भएको क्षतिको पूर्ति हामीले गर्न सक्छौं तर शिक्षा क्षेत्रमा त्यो हुन सक्दैन । यसको मतलब कोरोना फैलिइरहेको छ र यसैबीच शैक्षिक गतिविधिहरु पनि सञ्चालन गरी राखौं भन्नेचाहिँ होइन ।

शैक्षिक गतिविधिहरुलाई पनि हामीले सावधानीपूर्वक अगाडि बढाउन सकिन्छ । मैले थप के जोड दिन चाहन्छु भने- हामीले शैक्षिक संस्थाहरु बन्द गर्‍यौं, यसको मतलब हामीले कोभिडलाई पूर्ण रूपमा नियन्त्रण नियन्त्रणमा ल्याउन सक्छौँ त ? पक्कै पनि सकिँदैन । जस्तै हाम्रो अभिभावकहरु विभिन्न व्यवसायमा आबद्ध हुनुहुन्छ, उहाँहरूका नानी-बाबुहरू आफ्ना अभिभावकहरु व्यवसाय, कार्यालय वा आफ्नो काममा गइसकेपछि चाहिँ उनीहरु घरमा एक्लै हुन्छन् । यस अवस्थामा नानी-बाबुहरु घरमा बस्छन्, अभिभावकको नियन्त्रणबाहिर हुन्छन् । यसले झन् अझ बढी समस्या आउन सक्छ । त्यसैले यसो गर्दा कतिपय अभिभावकहरू समस्या पनि हुनुहुन्छ ।

यदि हामीले कोभिडलाई नियन्त्रण गर्ने हो भने ‘समय पर्ख र हेर को नीति’ लिनुपर्छ र यसको ग्राफ बढ्दै गयो गयो भने हामीले शैक्षिक गतिविधिहरु केही समयका लागि स्थगन गर्न सक्छौं । तर सुरुमै हामीले शैक्षिक गतिविधिहरु स्थगन गर्न गयौँ भने यसले बच्चाहरूको मानसिक असर पक्कै पनि पर्छ भन्ने हामीले महसुस गरेका छौं । विगत आठ महिना हामीदेखि टाढा रहेका विद्यार्थी भाइबहिनीहरु स्कुल-कलेजहरु खुलेपछि हामीसँग उनीहरुले गरेका अभिव्यक्तिहरूले हामीलाई के सिकाउँछ भने उनीहरु धेरै डिप्रेसनमा जाने, उनीहरुमा मानसिक असन्तुलन भएको महसुस गर्‍यौं । यस्तै उनीहरुमा एक्लोपना भएको हामीले महसुस गर्‍यौं ।

त्यसले गर्दा यी ठूला समस्याहरु छन् । र सकेसम्म विद्यालय सञ्चालन गर्दा बरु हामी सबै मिलेर विद्यार्थीहरुलाई माक्स लगाएर अनिवार्य उपस्थिति गराउने स्यानिटाइजर प्रयोग गर्न लगाउने, नियमित रुपमा साबुनपानीले हात धुन लगाउने र हामीसँग भए भने कमसेकम ६-७ घण्टा हामीसँग हुँदा उनीहरु सुरक्षित हुन्छन् । विद्यालय-कलेज भनेको कोभिड संक्रमण हुने ठाउँ होइन, बरु सुरक्षित हुने ठाउँ हो भन्ने मैले महसुस गरेको छु ।

तर हामीले बाहिरका गतिविधि हेर्‍यौं भने बालबालिकाहरु धेरै असुरक्षित रहेको महसुस हामीले गरेका छौं । यो विषयमा सरकार अलि बढी गम्भीर हुनुपर्‍यो । तपाईं-हामीले देखेका छौं अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीका नेता तथा मन्त्रीहरुले शिक्षालाई कसरी व्यवस्थापन गर्ने, विद्यार्थीको भविष्य कसरी उज्ज्वल बनाउने, स्वास्थ्यलाई कसरी सुरक्षित राख्ने, कसरी यसको व्यवस्थापन गर्ने, जनतालाई स्वास्थ्यको ग्यारेन्टी गर्ने भन्ने कुराहरुमा बहस भएका छैनन् । जुन बहस हुनुपर्ने कुरा हो त्यो भएका छैनन् ।

उहाँहरुको व्यक्तिगत राजनीतिको स्वार्थहरुका मात्रै बहस भएका छन् । त्यसमा द्वन्द्व आएको छ । ती कुराहरुलाई अहिले सम्पूर्ण राजनीतिक व्यक्तित्वहरुले आफ्नै व्यक्तिगत महत्त्वकांक्षाहरुलाई छाडेर राष्ट्रिय हितका लागि कसरी शैक्षिक गतिविधि अगाडि बढाउने, आफ्ना नागरिकहरुलाई कसरी सुरक्षित राख्ने भन्ने कुराहरुमा बहस गर्नु नै बढी प्रभावकारी देखिन्छ । जनताले पनि केही राहत महसुस गर्ने थिए र विद्यार्थीहरुले पनि आफ्नो पठनपाठनलाई अगाडि बढाउने मौका पाउने थिए । यसलाई यदि स्वास्थ्यका विज्ञहरुले भने अनुसार स्थिति नियन्त्रणबाहिर जान खोजेको हो भने यसमा हामीले पनि शैक्षिक गतिविधिहरुलाई भौतिक रुपमा केही समयका लागि स्थगन गर्न तयार छौं । तर त्योभन्दा पहिला अन्य सम्पूर्ण गतिविधिहरु रोक्यौं भने मात्र त्यो सम्भव हुन्छ ।

यो कोभिडको चेनलाई ब्रेक गर्नलाई हो भने कम्तिमा दुई साताका लागि सम्पूर्ण राजनीतिक, धार्मिक साथसाथै अन्य विभिन्न गतिविधिलाई पूर्ण रुपमा बन्द गर्न सकिन्छ । दुई सातापछाडि फेरि हामीले पहिलाकै सामान्य अवस्थामा आउने सम्भावना होला । नभए शैक्षिक संस्था मात्रै बन्द गरेर यसको समाधान देखिँदैन । त्यसैले म सम्पूर्ण अभिभावकहरुलाई के अनुरोध गर्न चाहन्छु भने यहाँहरु पनि सचेत भई आफ्ना नानीबाबुहरुलाई विद्यालय भनेको सुरक्षित ठाउँ हो कमसेकम हामीसँग ६-७ घण्टा उनीहरुले बिताउँदा सुरक्षित नै हुन्छन् । त्योभन्दा पनि महत्त्वपूर्ण कुरा उनीहरुले केही नयाँ कुराहरु सिकिराखेका हुन्छन् । साथीहरुसँग आफ्ना कुराहरु साटिरहेका हुन्छन् । तपाईंहरु आफैं पनि यो महसुस गरिराख्नुभएको छ ।

आफ्ना नानी-बाबुहरू घरमै बस्दा अलिकति फरक देखिएको, एकोहोरोपन देखिएको, उनीहरू मानसिक तनावमा रहेको पाउन सकिन्छ । त्यसैले यस्ता कुराहरुलाई हामीले पनि मनन् गर्नुपर्दछ र आफ्ना नानी-बाबुहरू भनेका, हाम्रा विद्यार्थीहरु भविष्यका कर्णधारहरु हुन् यिनीहरुलाई हामीले जोगाउनु पर्दछ । स्कुल पढ्दाखेरि असुरक्षित नानी-बाबुहरू मात्र होइन हामी शिक्षकहरु पनि असुरक्षित छौं । हामीलाई पनि उत्तिकै चुनौती छ । सबै विद्यार्थीका अगाडि हामीहरु बस्नैपर्छ, विद्यार्थीसँग अन्तर्क्रिया गर्नैपर्ने हुन्छ । शिक्षकहरुले जोखिम लिएरै पनि नानी-बाबुहरूको भविष्यका लागि योगदान गरिराख्नुभएको छ । कोभिड नियन्त्रणको समाधानका लागि शैक्षिक गतिविधिहरुमाथि नियन्त्रण गर्नुभन्दा अन्य गतिविधि नियन्त्रण गर्न सके हामी थप सुरक्षित हुन सक्छौं ।
(कुराकानीमा आधारित ।)

हेर्नुहाेस भिडियाे:

नारायण सिटौला

नारायण सिटौला बागमती कलेजका प्राचार्य हुन् ।

प्रतिक्रिया