शुक्रबार, वैशाख १४, २०८१

तालिवानको पर्खाइमा …

मिलन समीर २०७८ असोज २ गते १०:१२

शीतल निवासभित्र लुकेर बसिरहेका
सोमत नभएका स्यालहरुलाई सोहोर्नु छ
बालुवाटारभित्र लुकेर बसिरहेका
विवेकहीन बेइमान ब्वाँसाहरुलाई बढार्नु छ
सिंहदरबारभित्र लुकेर बसिरहेका
शिखण्डी स्यालहरुलाई सोहोर्नु छ
सानेपा दरबारभित्र लुकेर बसिरहेका
सिल्पट सिल्ली स्यालहरुलाई सोहोर्नु छ
बल्खु दरबारभित्र लुकेर बसिरहेका
विवेकहीन बेइमान ब्वाँसाहरुलाई बटुल्नु छ
पेरिसडाडाभित्र लुकेर बसिरहेका
पाखण्डी पागलहरुलाई पछार्नु छ ।

सबैलाई घोक्रेठ्याक लगाउदै
लडाउनु छ – पाता फर्काएर
गोर्खेलौरी कसेर घिसार्दै
ल्याउनु छ – टुडिखेलमा
र , एक – एकगरि छुट्याएर
पुरै नाङ्गेझार पार्नु छ – जनताको अगाडि
बुद्धिविवेकविहीन बुङ्गाहरुलाई ।

त्यसपछि ,
भारततिरै भगाउनु छ – भारतीय दलालहरुलाई
चीनतिरै धपाउनु छ – चीनिया दलालहरुलाई
पाकिस्तानतिरै पठाउनु छ – पाकिस्तानी दलालहरुलाई
अमेरिकातिरै लखेट्नु छ – अमेरिकी दलालहरुलाई
युरोपतिरै दपेट्नु छ – युरोपेली दलालहरुलाई ।

बाकी रहेका स्वाभिमानी नेपालीहरुले
एक – आपसमा हातेमालो गर्दै
जगाउनु छ – स्वधर्मको मूलमर्म
लगाउनु छ – स्वसंस्कृतिमा सबैलाई
र , स्थापना गर्नुछ – सधैंका लागि स्वराजको ।

म एउटा सिङ्गो स्वाधीन नेपाल हुँ
र , बसिरहेको छु – यतिबेला
नेपाली तालिवानको पर्खाइमा ।

प्रतिक्रिया