बुधबार, वैशाख १२, २०८१

ज्यान जाला कोऽरोना टेष्ट गर्दिन !

नेपालखोज २०७७ साउन २० गते १६:०१

को ऽ रोना । जो रोना रोना । तुम तो गुदी गुदी हाँस्ना । न रुनु न हाँस्नु भएको पाँच महिनादेखि । पूर्व मेचीको किनारामा बस्नेदेखि पश्चिमको महाकालीमा माछा मार्नेसम्मलाई । सर्कारले उनीहरुलाई राहतको नाङ्लो पनि देखायो । दाम्लोले भारी पनि वोकायो । घरभित्रै बस भनेर पनि थुनायो । तर ‘रातभरी रुङ्ग्यो बुढी त ज्यूँदो’ पो भयो । चार महिना अगाडि एउटा रोना अहिले २० हजारमा पुग्यो । ५० जना ता चिलिम नै फर्के भन्छ सर्कार । त्यही भएर होला अस्ति भर्खरै मुग्लानबाट १० दिनसम्म पैदलै गाउँ छिरेको मट्याङ्ग्रो स्वाँ–स्वाँ फ्वाँ –फ्वाँ गर्दै छ ।

मट्याङ्ग्रोको हविगत हेर्दा लाग्छ बजियालाई त सर्कारी को रोनाले समातेको हो की जस्तो लाग्छ । तर उ मान्दै मान्दैन । पटक्कै विश्वासै गर्दैैन किनकी उसँगै आएको हरिलठ्ठक झाडापखाला लागेर पानी खानै नपाई मृत्युलोक पुग्यो उसलाई पनि ऊ रोग लाग्यो भनेर घोषणा गर्दिए ।
त्यसैले उसकी प्याउली रुँदै सानो सर्कारका नाईकेकाँ पुगि । सानो सर्कारका नाईकेले बुढालाई होइन बुढीलाई नै थर्काएर पठाएछन् । नाईकले भनेछन्, ‘खुरुक्क त्यसलाई गोठमा थुन्दे । होइन भने तँलाई नै ऊऽ रोग लाग्या छ भनेर ऊ ऽ लाग्या खोराँ पठाईदिन्छु ।’

प्याउली आँखामा आँशु, ओठमा हाँसो लिएर मट्याङ्ग्रोको छेउमा पुगि र भनि हेर बुढा, तिमी यहाँ नबस । तलको गोठमा गएर बसे । नत्र त्यो छोटे सर्कारको नाईकेले ऊ ऽ लाग्या मान्छे बस्या खोराँ लगेर हाल्दिछु भनेको छ ।

प्याउलीको कुरा सुनेपछि मट्याङ्ग्रो थोरै हच्कियो र भन्यो, लौ तैंले नै गोठाँ गएर बस् भन्छस् भने म के गरुँ जान्छु गोठमा । एउटा गुन्द्री र एउटा तन्ना वोकेर मट्याङ्ग्रो गोठतिर लाग्यो । तर, प्याउली बुढासँगै जाँदै गईन ।
मट्याङ्ग्रो गोठाँ गएर प्याउलीलाई हेर्दै भन्न थाल्यो, ओइ प्याउली तँ चाहिँ आउँदिनस् ? घरको आँगनको डिलमा बसेर दाहिने हातले टाउकोे कन्याउँदै र देव्रे हातका पाँच औला हल्लाउँदै प्याउलीले बोली । आउँदिनो आउँदिन । ज्यानमारा रोग बोकेर आका छौं रे ! बस बुढा बस एक्लै गोठाँ बस । नत्र त रोग नै नलाग्या मलाई पनि सानो सर्कारको नाईकले ऊ रोग लाग्या मान्छे बसेको खोराँ लगेर हाल्दिनु भनेर फकाको छ । त्यसको फकाईमा लाग्नु भन्दा तिमी गोटा दुई हप्ता गाईबस्तुसँग बस । विहान बेलुका बस्तुलाई कुँडो र घाँस पराल हाल्न आउँदा तिमीलाई पनि सँगै ल्याईदिऊला भन्दै भित्र छिरी ।

मट्याङ्ग्रो गोठाँ ऊ रोग लागेर बसेको हल्ला गाउँभरी धानको बीउ छरे जस्तै छरिसकिएको थियो । सँगै बाँच्न सँगै मर्ने कसम खाएर घीउतिल ढडाएर जग्गेमा तीन फन्को घुमेर भित्र्याएकी आफ्नी स्वास्नीले त गोठाँ आफूलाई मिल्काईदिएपछि मट्याङ्ग्रो धरधरी रोयो । हे भगबान् कुन जुनीको पाप रैछ यो । मट्याङ्ग्रो लिस्नो चढेर पुरानो थन्किएको डुँडमा लुत्रुक्क परेर घोप्टियो ।

विस्तारै साँझ पर्न थाल्यो । गाँउ भरी मुग्लानबाट फर्केका र उऽ रोग लागेको शंका भएका व्यक्तिको घरगोठ खानतलासी गर्ने काम छोटे सर्कारको उर्दी नै थियो । त्यही जालोमा मट्याङ्ग्रे पनि पर्यो छोटे सरकारका गैरसैनिकहरुले उसलाई जर्वजस्ती कोऽ रोना टेष्ट गर्नका लागि लछारपछार गर्न थाले । उनीहरुले कुनै सुरक्षा कवच लगाएका पनि थिएनन् । अरुलाई कोऽ रोना छ कि छैन थाहा छैन । तर, तीनै गाउँ डुलुवाहरु कोरोना वोकेर घर घर चाहारिरहेका थिए ।

गाउँ डुलुवा छोटे सरकारका गैरसैनिकलाई मट्याङ्ग्रो भन्दै थियो, मुटु रोग लागे पनि कोऽ रोना, भिरबाट लडेपनि कोऽ रोना, सुत्केरी हुँदा मृत्युलोक गएपनि कोऽ रोना । झाडा पखाला लागेर पानी खान नपाएर मरेपनि को ऽरोना त्यसैले तिमीहरुले जेसुकै भने ज्यान जाला म कोऽरोना टेष्ट गर्दिन ।

प्रतिक्रिया