आइतबार, वैशाख १६, २०८१

सेती किनारको त्यो गोरेटो

सुनील उलक २०८० वैशाख २ गते ८:४६

तस्विरमा २०२० सालतिर तैयार भएको महेन्द्रपुल देख्न सकिन्छ । यो पुल बन्नु अगाडी यो पुलभन्दा केही तल कोठेसाँघु थियो । यो नै पोखरा प्रबेश गर्ने बाटो थियो । हिडेर पोखरा प्रवेश गर्नेहरुका लागि त यो नै एक बाटो थियो । तर जहाजमा पोखरा आउनेहरु पनि चोरसाँघुबाट सेती तरेर अहिलेेको एसओएस तथा रङ्गशाला हुँदै रामघाट(बौद्ध गुम्बा)बाट अस्पतालको पश्चिम बाटो हुदै कोठेसाँघु आइपुग्दथे । यहिँ कोठेसाँघु तरे पछि पोखराको मुख्य बजार क्षेत्र साँघुमुख शुरु हुन्थ्यो । साँघुमुखको पश्चिममा भने राणाहरुको घरघडेरी तथा बगैँचा थियो ।

राणाहरुले ओगटेको बिशाल बगैँचा (हालको पूर्व महेन्द्रपुल सडक, पश्चिम रामकृष्णटोल सडक, उत्तर गैह्रापाटन सडक र दक्षिण चिप्लेढुङ्गा सडक बिचको) थियो । गैह्रापाटनलाई उहिले घ्यूकर गाउँ भनिन्थ्यो । घ्यूकर गाउँ जङ्गबहादुरले श्रीपति कोइरालालाई बिर्ता दिएको पाँच गाउँ मध्यको एक गाउँ हो । राजा महेन्द्रले देशमा पंचायती ब्यबस्थाको शुरुवात गरेपछि २०१८ सालमा देशमा १४ अञ्चल र ७५ जिल्ला बिभाजन गराए । अञ्चलमा अञ्चलाधिशको ब्यबस्था भयो । पोखरामा पहिलो अञ्चलाधिशको रुपमा आए भूदेव राई । भूदेव राईलाई २०१५ सालको आमचुनावमा बिराटनगरबाट बिश्वेश्वरप्रसाद कोइरालाको बिरुद्ध बागी उम्मेदवारका रुपमा उठेका थिए । उनलाई गोप्य रुपमा राजा महेन्द्रले साथ दिएका थिए । तर बिपीको बिजय मात्र होईन कांग्रेसको बहुमत आयो, बिपी प्रधानमन्त्री बने ।

२०१७ सालमा भएको कांग्रेसको सातौ महाधिवेशनमा पनि भूदेव कांग्रेसको सभापतिका रुपमा बिपी बिरुद्ध उठेका थिए । २०१७ सालमा जननिर्वाचित सरकारलाई अपदस्थ गराई पंचायती ब्यबस्था लागु भयो । भूदेव राई पोखरा आए पछि उनका केही काम कांग्रेसलाई तर्साउने भयो भने केही काम पोखराका लागी यादगार भयो । कुनै कांग्रेसीलाई समाईयो भने टुडिखेलमा रहेको अञ्चलाधीश कार्यालयको अगाडी चौरमा कुट्न लगाउँथे । कुटाईको पिडा पछिको चिच्याहट सबैले सुनोस देखोस भनेर पनि यसो गर्दथे । यस तस्विरमा देखिएको महेन्द्रपुल पनि उनकै सक्रियतामा बनेको पुल हो । साँघुमुख र रानीपौवामा धेरै कांग्रेस छन् भन्ने जानकारी पाएका उनले यहाँका ब्यापारीले पुल बनाउन आर्थिक सहयोग गर्न चाहेको कुरा पनि थाहा पाएका थिए । तर यिनले ब्यापारीसंग पैसा लिएनन् उल्टो ढुङ्गा बालुवा बोक्न लगाए । जनश्रमदानको महत्व सिकाउँदै कजाए । उनकै समयमा बास्तोलाथर देखी विमानस्थलसम्म जाने बाटो बनाए । साथै सरकारी कार्यालयहरुको ब्यबस्थापन एउटै ठाउँमा हुनुपर्छ भन्दै पार्दीको जग्गा अधिग्रहण गरेर सरकारी कार्यालयहरु सबै पार्दीमा सार्ने चाँजोपाँजो मिलाए । तर यो कामको शुरुवात भने उनको सरुवा भईसकेपछि शुरु भयो ।

तस्विरमा देखाउन खोजिएको अर्को दृश्य सेती पारी देखिएको गोरेटो हो । यो बाटोबाट मानिसहरु रानीपौवाबाट फूलवारी हिडडुल गर्दथे । छोटो र सजिलो बाटो थियो यो । २०३८ सालमा पोखरामा घटेको दुखद नमिता सुनिता हत्याकाण्ड पछि यो बाटो सेनाले जबर्जस्ती आफ्नो बनायो । काँडे तार लगाएर सार्वजनिक आवतजावत बन्द गरायो । त्यो बाटो धेरै समय पहिले देखि नै सार्वजनिक बाटो थियो । तसर्थ भित्रि साँघुरा बाटोको बिकल्पको रुपमा २ किमी लामो चारलेनको सेती कोरिडोरको सडक बनाउन सकिन्छ । देशमा गणतन्त्र आईसकेको परिस्थितिमा सैनिक मुख्यालयसंग समन्वय गरेर सडकको लागी माग गर्न सकिन्छ । ब्यापारी बनिसकेको नेपाली सेनाले कुनै दिन महेन्द्रपुल नजिकै बिशाल सपिङ कम्प्लेक्स बनाई हाल्यो भने फेरी सेनाले दिने छैन । तसर्थ समयमै सरोकार निकाय तातिनु पर्ने आबश्यकता छ ।

पोखरा महानगरपालिकाले आफ्नो पुरानो कार्यालय रहेको रानीपौवाको सेनाले ओगटेको भवन फिर्ता लिन पहल थालिसकेको अवस्थामा यो सडक पनि फिर्ता लिन पनि थालेमा यसले मनिपाल अस्पताल पुग्न सहज हुने थियो । हाल सेनाले ओगटेको क्षेत्रको पूर्वतर्फ बनेको सडक घुमाउरो रुपले बनेको छ । सेनाले हाल रानीपौवा (फुलवारी)मा रहेको ब्यारेक बिस्तारै बिद्यालय र अस्पतालमा परिणत गरिसकेको हुँदा सुरक्षाका कारणले यो सडक बनाउन रोक्न चाहन्न होला ।

हाल फूलवारी ब्यारेक भित्र रहेको भगवती दल गण उत्तर तर्फ मात्र सिमित रहेको छ । बाँकी दक्षिण तथा पूर्वी भूभागमा अस्पताल र बिद्यालय रहेको छ । पश्चिम भागमा कुनै ठूला संरचना पनि बनाएको छैन । यो तस्बिर कहिले र कसले खिचेको भन्ने जानकारी त भएन तर मसंग यसको फोटो नै छ । फोटो खिचिएको समय २०३५-३६ तिर जस्तो लाग्छ । मेरो अनुमानमा फोटो खिच्नुहुने शम्भुरत्न शाक्य हुनुहुन्छ जस्तो लाग्छ ।

प्रतिक्रिया