बिहीबार, मंसिर २७, २०८१

सरकारले गरेको १५ कामको सूची सार्वजनिक

कोरोना नियन्त्रण प्राथमिकतादेखि एमसीसी सम्म

नेपालखोज २०७८ असोज २ गते १३:२८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले दुई महिनाभित्र गरेका १५ कामको सूची सार्वजनिक गरेका छन् ।

नियुक्त भएको दुई महिना वितिसक्दा पनि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना खेपेका देउवाले गरेका कामको सूची शनिबार सार्वजनिक गरेका हुन् ।

सार्वजनिक सूचीमा कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता दिएको उल्लेख छ । योग्य र अनुभवी व्यक्तिलाई सही जिम्मेवारी दिने नीति अनुरूप विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति लगायतलाई महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।

पाँच दलीय गठबन्धनको समर्थनमा सरकारको नेतृत्व गरेका देउवाले ६ जनाको मन्त्रिमण्डल बनाए पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । १७ मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन् ।

बजेटसम्बन्धी तीन अध्यादेश प्रतिस्थापन विधेयक संसदमा रहेका छन् र विधेयक पारित हुने सम्भावना न्यून देखिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश देखि औषधि अध्यादेश निष्क्रिय भएका छन् । जसका कारण कोभिड उपचार र खोप खरिदका काममा समस्या आउने देखिएको छ ।

प्रतिक्रिया