शताब्दी पुरुष जोशी संस्कृत भाषामा लेखिएको अभिनन्दन पत्रद्वारा पहिलो पटक सम्मानित

नेपालखोज २०७८ असोज २ गते १५:४९

काठमाडौं । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित भएका छन् । श्रीवैष्णव युवा परिषद् नेपालले ‘श्री रामानुजाचार्य एवम् विशिष्टाद्वैत दर्शन’ र ‘यतीन्द्रमतदीपिका’ पुस्तक सार्वजनिक कार्यक्रममा जोशीलाई दोसल्ला ओढाएर अभिनन्दन गरेको हो ।

शताब्दी पुरुष जोशीले आफ्नो जीवनकालमा धेरै पटक पुरस्कार र सम्मान प्राप्त गरे पनि संस्कृत भाषामा लेखिएको अभिनन्दन पत्रद्वारा पहिलो पटक सम्मानित हुन पाएकोमा खुसी व्यक्त गरे । संस्कृत भाषामा लेखिएको अभिनन्दन पत्र नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक उपेन्द्र दाहालले पढेर सुनाएका थिए । कार्यक्रममा उनले संस्कृत भाषा नेपालीलगायत सयौं भाषाको आमा भएकाले आफ्नो भाषालाई जीवन्त बनाउन संस्कृत भाषाको संरक्षण गनुपर्नेमा जोड दिए ।

उनले वैष्णव सम्प्रदायको जीवित इतिहासका रूपमा विश्वकै सबैभन्दा ठूलो बूढानीलकण्ठको मूर्ति रहेको र त्यसको संरक्षणमा सबै मिलेर लाग्नुपर्ने पनि बताए । त्यस्तै, चोरी भएको र विदेशबाट ल्याई छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको वामनको मूर्तिका साथै धेरै पुराना मूर्तिहरूको संरक्षण गरेको खण्डमा मौलिक संस्कृतिको रक्षा हुने बताए ।

१२२५ पेजको रामानुजाचार्य एवं विशिष्टाद्वैत दर्शनभित्र रामानुजाचार्यको दर्शन, जीवनी, नेपालल, भारतलगायत विभिन्न देशका विद्वानहरूका विभिन्न भाषामा लेखिएका करिब ३ सय वटा लेख, रामानुजाचार्यका समग्र कृतिहरूको सारांश र रामानुजाचार्यसम्बद्ध स्तोत्र समेटिएको धार्मिक ग्रन्थ सार्वजनिक गरिएको हो ।

रामानुजाचार्यसम्बद्ध सम्पूर्ण विषय समेटिएको नेपाली भाषाको पहिलो पुस्तक भएको वक्ताहरूले बताएका छन् । ‘यतीन्द्रमतदीपिका’ श्रीनिवासाचार्यद्वारा रचित कृतिको नेपाली अनुवाद सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया