जसपा र लोसपाले गरे संविधानको विरोध

नेपालखोज २०७८ असोज ३ गते १८:५२

काठमाडौं । मधेश केन्द्रित जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संविधानको बिरोध गरेका छन् । सातौं संविधान दिवसको अवसरमा दुवै पार्टीले काठमाडौंमा छुट्टाटछुट्टै कार्यक्रमको आयोजना गर्दै संविधानप्रति बिरोध जनाएका हुन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधानलाई परिमार्जन गर्नुपर्ने बताए । संविधान संशोधनको आवश्यक्ता विषयक वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संविधानले महिला, जनजाती, दलित र मधेशी जनतालाई नसमेटिएको भन्दै मधेशीलाई दमन गरेर संविधान जारी गरेको बताए । उनले देशको आधा भू-भागले अझै पनि यो संविधानलाई स्वीकार नगरेको बताए ।

अध्यक्ष यादवले यो संविधानलाई परिमार्जन गरेर कालो दिवस मनाउने र बत्ती बाल्ने सबैको लागि समेटिएको संविधान बनाइनुपर्ने बताए । उनले संविधान जारी गर्ने प्रक्रिया केही लेखन्दासले बसेर संविधान जारी गरेको बताए । उनले ३६५ वटा जति संशोधनको प्रस्ताव भएको तर छलफल नै नगरी पास गरेकोले संविधान त्रुटिपूर्ण रहेको बताए ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले पनि संविधानको बिरोध गरेको छ । लोसपाले आयोजना गरेको कार्यक्रममा उपस्थित वक्ताहरुले यो संविधानले नेपाली महिला, जनजाती, दलित र मधेशीहरुलाई उचित न्याय नदिएको बताएका छन् । कार्यक्रममा पुगेका वक्ताहरुले टाउकोमा कालोपट्टी बाँधेर संविधानको बिरोध गरेका छन् भने बिरोध कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पनि अनुपस्थित थिए ।

प्रतिक्रिया