आजदेखि भेरोसेल खोप लगाइने

काठमाडौं । आजदेखि ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेल लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा लगाउने जनाएको छ ।
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई खोप दिइने छ । यस्तै १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीले पनि खोप पाउनेछन् ।
काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइनेछ ।
अन्य जिल्लामा भेरोसेलको पहिलो मात्रा खोप दिइरहेका बेला काठमाडौँ जिल्लामा भने सामेबारदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ ।
पहिलो मात्रा खोप लगाएका दुई लाख ४० हजार नागरिक भेरोसेलको दोस्रो मात्रा लगाउन बाँकी रहेकाले दोस्रो मात्रा लगाइने छ ।

प्रतिक्रिया