विद्युत खपत बढाउने योजनामा प्राधिकरण

नेपालखोज २०७८ असोज ४ गते १३:३६

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत खपत बढाउने योजना ल्याएको छ । ठूला उद्योगहरूलाई मागेजति विद्युत उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाहरूको निर्माणलाई छिट्टो सम्पन्न गर्ने पहल सुरु गरेको हो ।

योजनाबद्ध रूपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखी काम अघि बढाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्रसारण तथा वितरण लाइनको क्षमता अभावमा उद्योगीहरूलाई मागे अनुसार विद्युत उपलब्ध गराउन सकेको थिएन ।

अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने योजना रहेको समेत बताए ।

दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका लाइन तथा सबस्टेसन निर्माण सुरु गरिने जनाइएको छ ।

उद्योगीहरूले मागेजति विद्युत नपाएको गुनासो गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार र आइतबार हेटौडा, सिमरा, विरगञ्ज, भरतपुर, परासी, भैरहवा औद्योगिक करिडोर क्षेत्रको स्थलगत अवलोकन गरेका थिए ।

ती स्थानमा सञ्चालनमा रहेका र निर्माणाधीन प्रसारण तथा वितरण लाइन, सबस्टेसनहरूको अवस्थाका बारेमा पनि उनले जानकारी लिएका थिए । कार्यकारी निर्देशक घिसिङले विद्युत खपत बढाउनु पर्ने अहिलेको चुनौतीपूर्ण अवस्थामा आयोजनाहरूको काम समयमै सम्पन्न गरी सहयोग गर्न आग्रह गरे ।

सिमरा र विरगञ्ज क्षेत्रका उद्योगहरूको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन हेटौडा–परवानिपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनमा नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली लाइनको क्षमता बढाउने काम भइरहेको छ ।

काम सम्पन्न भएपछि त्यस क्षेत्रमा थप विद्युत दिन सकिने प्राधिकरणले जनाएको छ । निर्माणाधीन हेटौडा–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने र अमलेखगञ्जमा रहेको सबस्टेसनबाट थप फिडर निकाली विद्युत आपूर्तिको सम्भावनाका विषयमा पनि घिसिङले छलफल गरेका थिए ।

प्रतिक्रिया