तीव्रगतिमा सवारी चलाउने कारबाहीमा

काठमाडौं । तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही सुरु गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही सुरु गरेको हो ।
दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत गति मापन गर्दै तीव्रगतिमा सवारी चलाउनेलाई कारबाही सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डिबी हमालले जानकारी दिए । उनका अनुसार सोमबार म्याग्दे गाउँपालिकास्थित गुणादीमा तीव्रगतिमा सवारी चलाउने ११ सवारी चालकलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमध्ये नौ जना मोटरसाइकल, एक जीप र एक बस चालक रहेका छन् । प्रतिघण्टार किलोमिटर ६० भन्दा बढी गतिमा सवारी चलाउनेलाई कारबाही गरिएको हमालले जानकारी दिए । प्रहरीले पृथ्वीराजमार्गको तनहुँ खण्डमा अधिकतम ६० र घुम्तीमा ४० प्रतिघण्टारकिलोमिटर गति निर्धारण गरेको छ ।
पृथ्वीराजमार्गमा यात्रा गर्ने ७० प्रतिशतभन्दा बढीले तीव्रगतिमा सवारी हाँक्ने गरेको कार्यालयले गरेको परीक्षणले देखाएको छ ।
राडर गनबाट गरिएको परीक्षणअनुसार मोटरसाइकल, प्राइभेट जीप, स्थानीय मिनीबस, खाली ट्रकलगायतले तीव्रगतिमा हाँक्ने गरेको पाइएको छ । राडर गनले कुन सवारी कति गतिमा गुडेको छ भन्नेबारेमा पत्ता लगाउने हुँदा गति कम गर्न यसले सहयोग गर्ने उनले बताए ।
सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७÷७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका छन् ।
उक्त अवधिमा तनहुँ खण्डमा गत वर्ष ९० स्थानमा दुर्घटना भएको थियो । त्यसक्रममा १२८ सवारी साधन दुर्घटनाग्रस्त भएका थिए । कार्यालयका अनुसार मोटरसाइकल र स्कुटर ६६, ट्रक-ट्याङ्कर १८, जीपरकार १७, ट्र्याक्टर १७, बस पाँच, माइक्रो चार र एउटा टिपर दुर्घटना भएको थियो ।
दुर्घटनामा ७६ गम्भीर र ५१ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेको छ ।
दुर्घटना कम गराउन प्रहरीले अभियान पनि सञ्चालन गरिरहेको उनले जानकारी दिए । सवारी चालक र पैदलयात्रीलाई प्रशिक्षणदेखि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्लामा बढीजसो दुर्घटना पृथ्वीराजमार्गमा हुने गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थानहरू हुन् ।
–रासस

प्रतिक्रिया