‘सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजिवी बाेलेनन्’

काठमाडाैं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजिवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलवार (आज) मदन भण्डारीको जीवनी बारे लेखिएको पुस्तक श्वेत शार्दुल सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको बताएका छन् ।
उनले न्यायाधिश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताए । आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजिवी र नागरिक समाजहरुले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दापनि विरोध नगरेको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
अध्यक्ष ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको टिप्पणी गरे । सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उनको आरोप छ ।
उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिदैँ त्यतातर्फ नहेर्न अनुरोधसमेत गरे । सरकारतर्फ हेरे अशुभ हुने उनको तर्क छ । कार्यक्रममा अध्यक्ष ओलीले मदन भण्डारीको जीवनी समेटिएको पुस्तकले मदन भण्डारीको बहुआयामिक व्यक्तित्वको बारेमा समेटेको धारणा व्यक्त गर्नुभयो । उहाँले भण्डारीले नेपाली राजनीतिमा पुर्याएको योगदानको चर्चासमेत गरेका थिए ।

प्रतिक्रिया