काठमाडौं उपत्यका : ५ वर्ष, ९५० को मृत्यु
काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा पाँच वर्षको अवधिमा सवारीसाधन दुर्घटनामा परि ९५० जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) वसन्तबहादुर कुँवरका अनुसार आ.व. ०७३/७४ देखि ०७७/७८ गरी पाँच वर्षको अवधिमा काठमाडौं उपत्यकामा मात्रै ९ सय ५० जनाको सवारीसाधन दुर्घटनामा परि मृत्यु भएको हो ।
करिब ४० हजार बढी भएका दुर्घटनामा परि एक हजार २७४ जना सख्त घाइते र १९ हजार १५५ जना सामान्य घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष ७०५ जना छन् । त्यस्तै, १८४ महिला, ३९ बालक र २२ जना बालिकाको मृत्यु भएको छ ।
प्रहरीको तथ्यांकअनुसार आ.व. ०७५/७६ मा सबैभन्दा बढी २५४ जनाले सवारीसाधन दुर्घटनामा ज्यान गुमाएका छन् । जसमा १८९ पुरुष, ४९ महिला, सात बालक र नौ बालिका छन् । त्यस वर्ष कुल आठ हजार ५११ सवारीसाधन दुर्घटना भएका थिए । उक्त दुर्घटनामा ३१७ जना सख्त र ४९७ जना सामान्य घाइते भएका छन् ।
त्यस्तै, आ.व ०७३/७४ मा कुल नौ हजार ८३० सवारीसाधन दुर्घटना भएका छन् । जसमा कुल १८२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १२४ पुरुष, ४३ महिला, १३ बालक र एक बालिका छन् । सोही दुर्घटनामा १९९ जना सामान्य र तीन हजार ९१४ जना सख्त घाइते भएका छन् ।
त्यस्तै, आ.व. ०७४/७५ मा कुल ६ हजार ३८१ सवारीसाधन दुर्घटना हुँदा १९४ जनाको मृत्यु भएको छ । जसमा १३८ जना पुरुष, ३९ जना महिला ९ बालक र आठ बालिका छन् । सोही अवधिमा २१९ जना सख्त र चार हजार ३३३ जना सामान्य घाइते भएका छन् ।
त्यस्तै, आ.व. ०७६/७७ मा कुल १० हजार ३० सवारीसाधन दुर्घटना भएकामा कुल १५३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ११७ पुरुष, २९ महिला, ६ बालक र एक बालिका छन् । सो वर्ष दुर्घटनामा २३३ जना सख्त र ६ हजार ३१० जना सामान्य घाइते भएका छन् ।
त्यस्तै, आ.व. ०७७/७८ मा कुल नौ हजार ५४५ सवारीसाधन दुर्घटना भएका छन् । उक्त दुर्घटनामा १३६ पुरुष, २४ महिला, ४ बालक र तीन बालिकाले ज्यान गुमाएका छन् । सोही अवधिमा २२६ जना सख्त र सात हजार ९५ जना सामान्य घाइते भएका छन् ।
प्रवक्ता (एसएसपी) कुँवरका अनुसार सवारीसाधन दुर्घटनाको मुख्य कारण नै सडकको अवस्था र चालकको लापरबाही हो । त्यस्तै कतिपय अवस्थामा तीव्र गति, मदिरा सेवन गरेर सवारी चलाउनु, सडकमा छाडा चौपाया, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमता भन्दा बढी यात्रु बोक्दा गर्दा पनि सवारी दुर्घटना हुने गरेका छन् ।
दुर्घटनालाई न्यूनीकरण गर्ने हो भने आमसर्वसाधारण र चालकले सवारीसाधन सञ्चालन गर्दा ट्राफिक नियमलाई प्रभावकारी ढंगबाट पालना गर्न अनिवार्य रहेको एसएसपी कुँवर बताउँछन् । उनले भने, ‘सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न हामीले कसैले केही गर्नु पर्दैन मात्रै सवारी सञ्चालन गर्दा सबैले ट्राफिक नियमलाई प्रभावकारी ढंगबाट पालना गर्नुपर्छ ।’
प्रतिक्रिया