शैक्षिक सुधारका लागि पैरवी गर्ने शिक्षा पत्रकार समूहको निर्णय

नेपालखोज २०७८ असोज ५ गते २०:३४

काठमाडौं । शिक्षा पत्रकार समूहको २२औं केन्द्रीय साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाले शिक्षा बिट पत्रकारिताको प्रवर्द्धन, शैक्षिक मुद्दाकेन्द्रीत बहस अन्तरक्रिया, गुणस्तरीय शिक्षालगायत क्षेत्रमा अनुसन्धान र शिक्षासम्बन्धी पुस्तक प्रकाशन गरी शैक्षिक सुधारका लागि पैरवी गर्ने निर्णय गरेको छ ।

शिक्षा पत्रकार समूहले बितेका दुई दशकमा उठाएका शैक्षिक सवाल, टुंगो लागेका र नलागेका मुद्दाबारे एउटा पुस्तक प्रकाशन गर्ने र शिक्षा क्षेत्रका विविध पक्षमा खोज अनुसन्धान तथा गहन रिपोर्टिङको कार्ययोजना पनि साधारणसभाले पारित गरेको छ ।

कोभिडका कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्ने स्थिति नरहेकाले शिक्षा पत्रकार समूहले गत वर्षदेखि आफ्ना गतिविधि, अन्र्तक्रिया र कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्दै आएको छ । गत वर्ष समूहले शैक्षिक मुद्दामा खोज मुलक रिपोर्टिङ गर्ने ३३ शिक्षा पत्रकारलाई लेखनवृत्ति प्रदान गरेको थियो ।

शिक्षा पत्रकार समूहले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) र हिमालय टेलिभिजनसंगको साझेदारीमा ‘बहसमा शिक्षा’ टेलिभिजन कार्यक्रम नियमित प्रसारण गर्दै आएको छ । तीन महिनामा १३ अंक प्रसारण हुँदा यो कार्यक्रममार्फत शिक्षा क्षेत्रका ३४ सरोकारवालासँग अन्तरक्रिया भईसकेका छन् ।

त्यस्तै, राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा ‘सामुदायिक विद्यालयको सबलीकरणका निम्ति सबल विद्यालयहरुको अभ्यास अध्ययन’ गरिएको थियो । त्यसको प्रतिवेदन आयोगको वेबसाइटमा समेत छ । गत वर्षदेखि प्रादेशिक संरचनामा गएको शिक्षा पत्रकार समूहले प्रदेशस्तरमा पनि आफ्ना गतिविधि संचालन गर्दै आएको छ ।

कर्णाली प्रदेश समन्वय समितिले स्थानीय तहस्तरमा शैक्षिक मुद्दाबारे अन्तरक्रिया गर्दै आएको छ । त्यस्तै, अन्य प्रदेश समितिले पनि गतिविधि संचालन गरिरहेका छन् ।

प्रतिक्रिया