बिहीबार, वैशाख १३, २०८१

आत्मरति

प्रतिमा ज्ञवाली २०७८ असोज ६ गते ७:०६

ती सहरभित्रका कोठे
फूलहरु त के फूल हुन् र,
म हिँड्ने बाटो छेउको
‘अजम्बरी’ फूल देखेपछि
त्यसै ढकमक्क हुन्छु म ।

लालीगुराँसको झल्को देख्छु
यी पाखाहरुमा त्यसैले त,
असाध्यै मनपर्छ मलाई
यी बाटाहरु, यी पाटाहरु ।

दुई-चार दिन मात्र नहिँड्दा पनि
मन न्यास्रीए जस्तो हुने,
माया मारे जस्तो अनि,
एक्लो भएर बिरक्तिए झैं लाग्ने ।

लामा फराकिला चौबाटा
नागबेली पर्दै जोडिएर
गुज्रिएका बस्तीको बीचबाट हरेक दिन लाग्छ,
कुनै यात्रामा निस्केको छु म
आफ्नै मनको बग्गी चढेर ।

त्यसैले होला अरु कुनै सहर हेर्ने
चाह हुँदैन मलाई अचेल ।

खपिनसक्नुको गर्मीमा
आफ्नै शरीरबाट छुट्ने
पसिनाको गन्धले,
हरेक फूलको बासनाहरुलाई
पराजित गरे झैं
महसुस हुन्छ मलाई यही कारणले पनि हो,
म यो ठाउँमा मन्त्रमुग्ध
भएको छु अचेल ।

मिर्मिरेको आफ्नै हिँडाइसँगै
हातका चुरा र पदचापको
आवाजले बस्तीको कानमा
कम्पन हुँदो हो, अनि
बस्तिका मान्छेहरु उठ्दा हुन् ,
र भन्दा हुन्, उ ‘प्रतिमा’ आई ।
अब उज्यालो भो ।

खुसीले बाटो छेउका रुख-बिरुवा अमुक हाँसो हाँस्दा हुन्,
फूलहरुले लाज मान्दा हुन् अजम्मरी र सिउँडीले घुम्टो ओढ्दा हुन्
पानी भर्नेहरु रोक्किएर हेर्दा हुन, जुरेलीले अर्कै भाका फेर्दो हो
फिस्टो पनि तन्नेरि देखिन छाती फुलाएर बस्दो हो ।

तित्रो कसो गरम् भनेर छट्पटाउँदो हो
लाटोकोसेरो पनि मुस्कुराउँदो हो ।
काग, हुँचिल र बकुल्लाहरुको
निन्द्रा भंग हुँदो हो ।

कोइलीले चिने पनि नचिने झैं गरी
को हो ? को हो ? भन्दो हो ।

झारहरु लज्जाबती झैं भुतुक्क हुँदा हुन् ।
अग्ला बाँसहरु हल्का भुइँतिर नुग्दा हुन्
बटुवाहरु टक्क उभिएर हेर्दा हुन्
बाह्र बजे घाम तिर फर्किने
बाह्र बजे फूल मैं तिरै फर्किंदो हो ।

बाइक चढ्नेहरुले २ गियरमा झार्दा हुन् ।
कार चढनेहरुले थोरै झ्याल खोल्दा हुन्
उरन्ठेउला केटाहरुले सुसेल्दा हुन्
पवनको गति पनि
मन्द मन्द हुँदो हो त्यति खेर ।

हाँस कुखुरा र चराहरु उन्मत्त भै
उड्दा हुन्
र बाख्राका पाठाहरु
मैमत्त भै उफ्रिँदा हुन्
बस्तीहरुको आँगनमा ।

प्रतिक्रिया