‘हाम्राे पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको छ’

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन् ।
अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरे । पार्टी निकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरुको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढ्ने पनि बताए ।
अध्यक्ष नेपालले माओ, होचि मिन्हजस्ता नेताहरुले विश्व कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने, ‘जनताको बहुदलीय जनवादीलाई हामीले आत्मासात गर्न चाहन्छौं । र त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौं । विश्वका विभिन्न देशहरुमा कम्युनिष्ट पार्टीहरुमा एकसे एक नेताहरुको उदय भएको छ । र उनीहरुको महत्वपूर्ण भूमिकाले त्यो देशको कम्युनिष्ट आन्दोलन निरन्तर रुपमा अगाडि बढेको छ । चीनमा माओजस्ता नेताहरु, देङसेवापिङ जस्ता नेताहरु जन्मे । त्यसैगरी भियतनाममा होचि मिन्हलगायतका नेताहरु जन्मे । र कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाए । हामी कहाँ पनि पुष्पलाल जस्ता नेताहरु, मनमोहन अधिकारी जस्ता नेताहरु, मदन भण्डारीजस्ता नेताहरु जन्मिए । तुलसीलाल जस्ता योद्धाहरु देखा परे । ती सबै योद्धाहरुप्रति हामी गौरव बोध गर्दछौं । उहाँहरुको जीवनबाट प्रेरणा लिएर हामी अघि बढछौं ।’
अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी दिने कामलाई जोड दिने बताए । उनले त्यसका लागि आफूलाई दक्ष बनाउने गरी प्रशिक्षित हुन पनि आफू निकट पार्टीका युवा संघका नेता, कार्यकर्तालाई सचेत पनि गराए । अध्यक्ष नेपालले पार्टीमा आवद्ध युवाहरुले सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
अध्यक्ष नेपालले पार्टीका युवाहरुले कृषि फार्म, माछा पालन, तरकारी खेती, फलफूल खेतीलगायतका उत्पादनशील क्षेत्रको काममा लाग्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया