मानवअधिकार उल्लंघन तथा ज्यादतिबाट १०२ जना पीडित

नेपालखोज २०७८ असोज ७ गते १६:४५


काठमाडौं । इन्सेकले भदौ महिनामा १५ जना पुरुष र ८७ जना महिला गरी १ सय २ जना मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटनाबाट पीडित भएको जनाएको छ ।

असोज ७ गते साउन महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले ०७८ भदौ महिनामा इन्सेक अनलाइनमा प्रकाशित समाचार अनुसार विभिन्न घटनामा परी १ सय २ जना पीडित भएका जनाएको हो ।

प्रकाशित समाचार अनुसार प्रदेश २ मा २५, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा १५ जना, गण्डकी र बागमती प्रदेशमा १३÷१३ जना, प्रदेश १ मा १० जना र सुदूरपश्चिम प्रदेशमा ८ जना पीडित भएका छन् ।

भदौ महिनामा अपहरणका घटनामा दुई जना, कुटपिटका घटनामा दुई जना, घाइते एक जना, दुर्व्यवहारका घटनामा चार जना र धम्कीका घटनामा दुई जना पीडित भएका भनी लेखिएका समाचार प्रकाशन गरिएको इन्सेकले जनाएको छ ।

भदौ महिनामा नौ जनाको हत्या गरिएको र बाल अधिकार उल्लंघनका घटनामा ४७ जना तथा महिला अधिकार उल्लंघनका घटनामा ३५ जना पीडित भएका विषयमा लेखिएका समाचार प्रकाशन गरिएको उल्लेख छ ।

भदौमा प्रकाशित समाचारमध्ये बाल अधिकार उल्लंघनका घटनामा परी ४६ जना बालिका र एक जना बालक गरी ४७ जना बालबालिका पीडित भएका इन्सेकले जनाएको छ ।

अभिलेखित घटनाहरूमध्ये बलात्कारका घटनामा ३८ जना, यौन दुर्व्यवहारका घटनामा ६ जना, बेचबिखन प्रयासको घटनामा एक जना र विद्यालयमा शारीरिक दण्ड सजायको घटनामा एक जना पीडित भएका विश्लेषणमा जनाइएको छ ।

भदौ महिनामा मात्रै पीसीआर विधिबाट २ लाख ८९ हजार ३ सय ६१ ओटा स्वाब परीक्षण गरिएकोमा ४४ हजार ६ सय ९५ जनामा कोभिड पुष्टि भएको विश्लेषणमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कलाई आधार मानी विश्लेषण गर्दा भदौ महिनामा परीक्षण गरिएका स्वाबमध्ये १५.४४ प्रतिशतमा कोभिड पुष्टि भएको छ ।

प्रतिक्रिया