शुक्रबार, चैत १६, २०८०

संसार सफा छ, मेरो देश किन सफा हुन सक्दैन ?

नेपालखोज २०७८ असोज ८ गते ११:००

फोहोरमैलाले राजधानीलाई विकृत बनाएको छ । राजधानीमात्रै होइन पुरै देश फोहोरको समस्यामा रुमलिइरहेको छ । संसार सफा छ, तर मेरो देश किन सफा हुन सक्दैन ? के हामी भित्र थोरै पनि स्वाभिमान छैन ? फोहोरको थुप्रोभित्र बसेर स्वाभिमानको कुरा गर्नु लाजमर्दो हो । कम्तीमा आफ्नो घरलाई जिरोवेस्ट बनाऔं । हामी सक्छौं, केवल हामीमा इच्छाशक्ति चाहिन्छ । मेरो घर जिरोवेस्ट हुँदा हजुरको घर किन हुँदैन ?

– प्लास्टिकको प्रयोगमा न्यूनता ल्याऔं ।
– घरको फोहोरलाई कुहिने र नकुहिने गरी दुई अलग बर्गमा बिभाजन गरौं ।
– कुहिने फोहोरबाट कम्पोष्ट मल बनाऔं ।
– नकुहिने फोहोरलाई पनि बिक्रीहुने र बिक्री नहुने दुई भागमा विभाजन गरौं ।
– बिक्री हुने फोहोर बेचौं ।
– बिक्री नहुने प्लास्टिकलाई पानी वा हल्का पेय पदार्थको बोतलमा कोचौं ।

यसरी जो कसैको घरलाई जिरो वेस्टमा अनुवाद गर्न सकिन्छ ।

कम्पोस्ट मल कसरी बनाउने ?
– कुहिने वस्तुलाई कुनै गहिरो भाँडो वा खाडलमा राख्ने ।
– एक सातासम्म जम्मा भएको कुहिने फोहोरलाई भाँडोमा राखेपछि त्यसमाथि थोरै माटोले छोपिदिने ।
– यो क्रम दोहोर्याउने ।
– भाँडो भरिएपछि तलको माथि र माथिको तलपर्ने गरी चलाउने ।
– ३ हप्तामा मल तयार हुन्छ ।

यस्तो मललाई अर्ग्यानिक मल पनि भनिन्छ । यो मलको प्रयोगबाट हुने उत्पादन विषादिरहित हुन्छ । यसको प्रयोग स्वस्थ्यकर र पोषिलो पनि हुन्छ ।
आवश्यक भए यससम्बन्धी प्राविधिक जानकारी वा सेवा हामी उपलब्ध गराउँछौं। हामीले चाह्यौं भने यो देशलाई एक सातामा सफा बनाउन सक्छौं । त्यसका लागि केवल हामीभित्र इच्छाशक्तिको जरुरत छ ।

घरको फोहोरलाई बाहिर फाल्नु आजको सन्दर्भमा पाखण्डको पराकाष्टा पनि हो । सभ्य र सुसंस्कृत मानिसहरुले आफ्नो घरको फोहोर घरबाहिर सडकमा बाहिर फाल्दैनन् ।

देशका लागि केही गरौं । देश रहेमात्र हामी रहन्छौं, प्रकृती बाँच्यो भनेमात्र हाम्रा सन्ततिले यो संसारलाई उपभोग गर्न सक्छन् ।

प्रतिक्रिया