शुक्रबार, वैशाख १४, २०८१

ट्रु कलरबाट आफ्नो नाम र नम्बर हटाउन आउँछ ?

नेपालखोज २०७८ असोज ८ गते ११:४१

काठमाडौं । नयाँ नम्बरबाट फोन आउँदा नाम देखाउने एप हो ट्रु कलर । अहिले स्मार्ट फोन प्रयोगकर्ताले यो एप राखेकै हुन्छन् । यसमा सम्बन्धित व्यक्तिले आफ्नो विवरण राखेमा सबै विवरण अर्को प्रयोगकर्ताले हेर्न पनि सक्छन् ।

पछिल्लो समय यो एपलाई असुरक्षित एप भन्दै केही देशले त प्रयोग नगर्न पनि आग्रह गरेका छन् । तर पनि फोन आउँदा नामको विषयमा जानकारी लिन डाउनलोड गर्ने क्रम रोकिएको छैन । कसैलाई अचम्म पनि लाग्न सक्छ हाम्रो विवरण कसरी सेव र सेयर गर्छ भनेर । कसैले फोटो पनि राखेका हुन्छन् । त्यो पनि फोन गर्दा कसैको नम्बरमा जान्छ ।

कुनै पनि प्रयोगकर्ताले ट्रुकलर एप डाउनलोड गरी त्यसमा लगईन गर्छन् । एपले उक्त व्यक्तिलाई केही अनुमति माग्दछ । सबैलाई यस् भन्दै पनि जाने गरेका छौं । यसले कन्ट्याक्ट नम्बरको सूचीको अनुमति समेत माग्ने गरेको हुन्छ । प्रयोगकर्ताले ट्रुकलरलाई आफ्नो अकाउन्टमा सबै कुरा एक्सेस दियो भने त्यहाँ सेभ गरेका सबै व्यक्तिको डाटा यसले आफ्नो सर्भरमा सेभ गर्छ ।

जब कुनै पनि प्रयोगकर्ताले ट्रुकलरमा कुनै पनि नम्बर सर्च गर्दछ वा उसलाई कुनै अपरिचित नम्बरबाट कल आउँदछ भने यो एपले आफ्नो सर्भरमा उसको नाम तथा जानकारी सर्च गरेर देखाउँछ । यसका लागि इन्टरनेटको आवश्यकता भने हुन्छ ।

जो व्यक्ति आफ्नो पहिचान लुकाउन वा गोप्य राख्न चाहन्छन्, उनीहरूका लागि यो एपले समस्या नै पैदा गरिदिन्छ । तपाईले यो एप राख्नु भएको छैन, तर तपाईको साथीले तपाइको नंबर सेभ गरेर उसको मोबाइलमा ट्रु कलर छ भने पनि यो अरूकोमा सेयर हुन्छ ।

हटाउन के गर्ने ?
आफ्नो सम्पर्क नम्बर ट्रुकलरको डेटा बेसमा सूचीकृत नहोस् भन्ने चाहनुहुन्छ भने त्यसका लागि सुरुमा तपाईंले आफ्नो अकाउन्ट डिएक्टिभेट गर्नुपर्ने हुन्छ ।

साथै कम्पनीसँग तपाईंले उसको डेटाबेसबाट आफ्नो नम्बर हटाउनका लागि अनुरोध गर्न सक्नुहुन्छ । त्यसो त ट्रुकलर प्रयोगकर्ताका लागि स्पामर, स्क्यामर, टेलिमार्केट कल र कल सेन्टरको जानकारी पत्ता लगाउन सहयोगी बन्दै आएको छ ।

यदि तपाईं आफ्नो गोपनीयताको विषयलाई लिएर चिन्तित हुनुहुन्छ भने तपाईंले यसका लागि सबैभन्दा पहिला ट्रुकलर अकाउन्ट डिएक्टिभ गर्नु नै उपयुक्त हुन्छ । एन्ड्रोइड प्रयोगकर्ताले यदि प्रयोग गर्नुभएको छ भने ट्रुकलर एप खोल्नुहोस् ।

अब एपको दायाँतर्फ माथि भएको मेनु बटन (तीन वटा थोप्ला भएको) मा ट्याप गर्नुहोस् । त्यसपछि सेटिङमा जानुहोस् । त्यहाँ तपाईंले प्राइभेसी सेन्टर चयन गर्नुपर्ने हुन्छ र त्यसपछि अन्तिममा रहेको डिएक्टिभ बटन चयन गरी कन्फर्म गर्नुपर्ने हुन्छ ।

तपाईं आईफोन प्रयोग गर्नुहुन्छ भने आईफोनमा ट्रुकलर एप खोल्नुहोस् । बायाँतर्फ माथि कुनामा रहेको प्रोफाइलमा थिच्नुहोस् । त्यसपछि सेटिङमा जानुहोस् र प्राइभेसी सेन्टर हुँदै डिएक्टिभ गर्नुहोस् ।

यसो गर्नाले कसैले ट्रुकलरमा तपाईंको नम्बर सर्च गर्दा त्यसमा तपाईंको कुनै पनि जानकारी देखिने छैन ।

प्रतिक्रिया