‘आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ’

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लडन तयार रहेको बताएका छन् ।
नेता बादलले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिए । शुक्रबार चितवनको भरतपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’
नेता बादलले पुष्पकमल दाहाल पार्टी लाइन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र मुलुकको समृद्धिको विरोधी लाइनमा लागेको आरोपसमेत लगाए ।
उनले सभामुख अग्नीप्रसाद सापकोटा पार्टी कार्यकर्ताको भूमिकामा उभिएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको पनि स्पष्ट पारे । उनले आफ्नो पार्टी एमसीसीलाई परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको पनि बताए ।

प्रतिक्रिया