आइतबार, असार १५, २०८२

तालिबानले चार जनाको शव सार्वजनिक स्थानमा झुन्ड्याइदियो

नेपालखोज २०७८ असोज १० गते १०:१६

काठमाडौं । अफगानिस्तानको हेरात सहरमा तालिबानले चार अपहरणकारीका शवलाई सार्वजनिक स्थानमा झुन्ड्याइदिएको छ।

तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्डजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट उक्त घटना भएको हो।

एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चार जनाको एउटा भिडन्तमा मृत्यु भएको एक स्थानीय अधिकारीले बताएका छन्।

उक्त स्थानमा चारवटा शव ल्याइएको र त्यहाँ एउटा झुन्ड्याइएको थियो भने बाँकी तीन वटालाई सहरका अन्य स्थानमा देखाउन लगिएको थियो।

हेरातका सहायक गभर्नर मौलवी शैर अहमद एमरलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले तालिबान लडाकुहरूले अपहरणको आरोप लागेका ती मानिसलाई फेला पारेको र गोली हानाहानमा उनीहरूको मृत्यु भएको जनाएका छन्।

तर सामाजिक सञ्जालमा प्रेषित बीभत्स तस्बिरमा एउटा पिकअप ट्रकको पछाडिपट्टि रक्ताम्मे शवहरू राखिएको र एउटा क्रेनले एउटा शव उठाइरहेको देखिन्छ।

अर्को एउटा भिडिओमा एक व्यक्तिको शव झुन्ड्याइको र उनको छातीमा “अपहरणकारीहरूलाई यसरी दण्ड दिइन्छ” लेखिएको देखिन्छ।

गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएपछि तालिबानले पहिलाको जस्तो कठोर नभई अलि नरम शासन गर्ने बताउँदै आएको छ।

तर देशका विभिन्न स्थानबाट मानवाधिकार उल्लङ्घन गरिएका अनेकौँ विवरण प्राप्त भएका छन्।

तालिबान सरकारमा कारागार प्रमुख बनाइएका मुल्लाह नूरुद्दिन तुराबीले “सुरक्षाका लागि आवश्यक भएको” भन्दै मृत्युदण्ड र अङ्गच्छेनको सजाय फेरि थालिने बिहीवार घोषणा गरेका थिए।

एपीसँगको अन्तर्वार्तामा उनले त्यस्ता दण्डहरू सन् १९९० को दशकमा तालिबान शासनकालमा जसरी सार्वजनिक रूपमा भने नदिइने सम्भावना व्यक्त गरेका थिए।

तालिबानले आफ्नो पाँचवर्षे शासनकालमा काबुलको रङ्गशाला तथा इद गाह मस्जिदको मैदानमा बारम्बार सार्वजनिक मृत्युदण्ड दिने गरेको थियो।

उनी विगतका गतिविधिका कारण संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धसम्बन्धी सूचीमा छन्। पहिला उनी तालिबानको “नैतिकता प्रहरी”का प्रमुख थिए।

गत महिना अल्पसङ्ख्यक हजारा समुदायका नौ सदस्यको हत्यामा तालिबान लडाकुहरू संलग्न भएको जनाएकाे थियाे ।

उक्त संस्थाका महासचिवले “क्रूरतापूर्वक” गरिएका ती हत्याले तालिबानको विगत र तालिबानको शासनमा फेरि के हुनसक्छ भन्ने सङ्केत गरेको बताएका थिए। बीबीसी

प्रतिक्रिया