एमाले विधान महाधिवेशनमा पाँच हजार नेता कार्यकर्ता सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक तिनओटा प्रतिवेदन पारित गर्दै सम्पन्न भएको छ । शुक्रवारदेखि सुरु भएको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले प्रस्तु गरेको विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गर्दै आइतवार समापन भएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज १५ गते हुने विधान महाधिवेशनमा पाँच हजारको संख्यामा नेता कार्यकर्ता सहभागी हुने बताए । ललितपुरको गोदावरीस्थित सनराइज हलमा असोज १५ गते सुरु हुने विधान अधिवेशन ३ दिन चल्ने उनले जानकारी दिए ।
विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी सदस्य, प्रत्येक केन्द्रीय विभागबाट ५ जना, प्रत्येक जनसंगठनका पदाधिकारी र वरिष्ठ सदस्यमध्येबाट १० जना, जिल्ला कमिटीका पदाधिकारी, प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रबाट अनिवार्य १ जना महिला, प्रत्येक जिल्लाबाट १ जना दलित, प्रतिनिधी सभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र एकतामा सामेल भएका व्यक्तिहरु सहभागी हुने उनले बताए ।
बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनको निष्कर्ष जनताको बहुदलीय जनवादले अगाडी सारेका कार्यभारहरुलाई सम्पन्न गर्दै र क्रान्तिका उपलब्धीहरुलाई अझै संस्थागत गर्दै समाजवादी दिशामा अगाडी बढ्ने आधार तयार गर्ने रहेको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।
बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक हिसाबले एकतावद्ध र सुदृढ बनाउने निर्णय गरेको पनि उनले उल्लेख गरे । आगामी संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने निष्कर्ष पनि पारित भएको प्रतिवेदनले निकालेको छ ।
एमाले केन्द्रीय कमिटी बैठकले सरकारले पारित गरेको प्रतिस्थापन विधेयकमा स्रोत नखुलेको सम्पतीलाई खुला गर्ने नीति लिएको भन्दै त्यसको विरोध गरेको छ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनलाई उल्लंघन गरेको एमालेको ठहर रहेको छ । यसलाई तत्काल फिर्ता गर्न पनि एमालेले माग गरेको भट्टराईले बताए । एमालेले आगामी दिनमा प्रशिक्षणहरुलाई नियमित गर्ने र पार्टी स्कूलहरुलाई नियमित सञ्चालन गर्नेसमेत पारित गरिएको प्रतिवेदनमा उल्लेख गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया