बिहीबार, वैशाख ६, २०८१

‘नेपाली र पाकिस्तानीलाई जोड्न क्रिकेट कूटनीति आवश्यक’ (अन्तर्वार्ता)

नेपालखोज २०७८ असोज १० गते २१:२२

काठमाडौं । पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताएका छन् । संचारकर्मीसँग कुरा गर्दै अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताए । नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए । कुनै समय पाकिस्तानको १९ वर्ष मुनिको टोलीलाई नेपाली टीमले हराएको प्रशंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टीमलाई आफूले सक्दो सहयोग गर्ने बताए । आफूले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउने बताए । अफ्रिदीसँग गरिएको कुराकानीको सम्पादित अंश –

नेपाल छोटो बसाई कस्तो भइरहेको छ? अनुभव कस्तो छ ?
म एकदमै खुसी छु । अहिले नेपालमा छु । क्रिकेटको कारण अहिले म नेपालमा छु । योसँगै अर्को महत्वपूर्ण कुरा नेपाल र पाकिस्तानबीच क्रिकेटको माध्ययमबाट सम्बन्ध जोडिएको छ । तीन दिनको बसाईको क्रममा नेपालीहरुमा क्रिकेट प्रतिको लगाव निकै पाएको छु । क्रिकेटसँगको लगाव सँगैसँगै पाकिस्तानी क्रिकेट टोलीलाई माया गर्ने नेपालीहरु पाएको छु । मैले केही नेपाली खेल अधिकारीहरुलाई पाकिस्तान भ्रमणको निम्तो दिएको छु । म पाकिस्तान पुगेर उहाँहरुलाई स्वागत गर्नेछु । जुनसुकै विषय होस, नेपाल र पाकिस्तानको सम्बन्ध जोडिनु आफैमा महत्वपूर्ण छ । यो प्रगाढ हुँदै जाओस् ।

तपाई त क्रिकेटर, नेपाली क्रिकेटलाई कसरी हेर्नु भएको छ, कसरी विश्लेषण गर्नु हुन्छ ?
नेपाली यु–१९ क्रिकेट टोलीले पाकिस्तानी टोलीलाई हराएको सम्झिन्छु । यसको मतलब नेपाली खेलाडीमा प्रतिभा क्षमता छ । पछिल्लो खेल इपिएलमा मैले खेले, उक्त खेलमा मैले क्षमता भएका नेपाली खेलाडी देखेँ । सन्दिप लामिछानेलगाएतको खेलाडीहरुको टोली क्षमतावान छ । उनीहरुले नेपाललाई विश्वमा कहि पनि चिनाउन सक्छन् । नेपाली क्रिकेट विकास गर्नका लागि तल्लो तह ग्राँसरुटदेखि नै ध्यान दिनु पर्छ । सरकारको संलग्नता निकै महत्वपूर्ण हुन्छ । सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ, खेलाडीहरुलाई सुविधा मिल्छ । सबै भन्दा राम्रो पक्ष भनेको नेपाल सरकार क्रिकेट प्रति सकारात्मक छ ।

नेपालको फ्रेन्चाईज लिगसँग जोडिनु भयो, तपाईलाई कुन विषयले जोडिन प्रेरित गर्‍यो ?
म एक व्यवसायिक खेलाडी भएको नाताले मैले क्रिकेटको बारेमा कुरा गर्छु । कोही खेलाडी शान्ति, प्रेम र सद्भावको खोजीमा हुन्छ र खेल पनि त्यस्तै अवस्थामा होस भन्ने अपेक्षा राख्छ । क्रिकेट नै एउटा त्यस्तो खेल हो, जसले भारत पाकिस्तानको सम्बन्ध राम्रो नहुँदा पनि भारत भ्रमण गरेर आफ्नो खेल र शान्तिको सन्देश दिएको थियो । पाकिस्तान आफ्ना मित्र राष्ट्र र छिमेकीहरुसँग सुमधुर सम्बन्ध राख्न चाहन्छ । हाम्रो क्षेत्र (दक्षिण एसिया) मा क्रिकेटलाई अलग्गै दृष्टिले हेरिन्छ । भारतमा त क्रिकेटलाई धर्म जस्तै भइसकेको छ । क्रिकेटको माध्ययमबाट सम्बन्धहरुलाई प्रगाढ र घनिभूत बनाउन सकिन्छ । मलाई यस्तो लाग्छ । क्रिकेटकै माध्ययमबाट नेपाल र पाकिस्तानको सम्बन्धलाई पनि अझ बलियो बनाउन सकिन्छ । यस भन्दा अघि म नेपाल आएको थिएन, नेपाल देखेको पनि थिएन् । मेरो खुट्टामा समस्या हुँदाहुँदै पनि मैले नेपाल भ्रमण गरेको छु । क्रिकेटको माध्ययमबाट नेपालमा रहेका क्रिकेट प्रेमीहरुसँग प्रेम र सद्भावको सन्देश पनि लिएर आएको हुँ ।

पाकिस्तान र नेपाल क्रिकेटसँग जोडिन सक्ने विषयहरु के के छन ? कसरी जोडिन सक्छन ?
दुई देशको राजनीति आफ्नो स्थानमा छ । क्रिकेटसँग क्रिकेट र क्रिकेट कुटनीति फरक छ । यो पनि एक प्रकारको राजनीति हो । यसबारेमा मेरो बुझाइ अलि फरक छ । यही क्रिेकटबाट जोडिन म नेपाल आएको हुँ । म यहाँ रहँदा जति पनि मानिसहरुसँग भेट भयो मेरो लागि अविश्मरणीय रह्यो । नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहन्छु । पाकिस्तान पुगेर मैले नेपाली टोलीलाई खेल्न आमन्त्रण गर्छु । यसलाई नेपालस्थित पाकिस्तान दूतावास र नेपाल सरकारले सहजीकरण गर्नेछन् ।

तपाईले परिवार सहित फेरी नेपाल भ्रमण गर्ने भन्नु भएको छ । त्यस्तो के विषयले मोहित बनायो ?
यो भ्रमणमा मैले पुरै नेपाल राम्रोसँग घुम्न पाइन । छोटो भ्रमण छ । आज माउन्टेन फ्लाईट गएँ । सगरमाथा देखेँ । सँगै अन्य हिमालहरु हेरेँ । मेरो रोमाञ्चक अनुभव रह्यो । त्यसैले म परिवारलाई साथै लिएर आउन चाहन्छु । किन भने मेरो साथ परिवार भयो भने तुरुन्त फर्किने हतारो हुने छैन् । शहर भन्दा बाहिर गएर नेपाल हेर्न चाहन्छु । धन्यवाद ।

प्रतिक्रिया