पर्यटन क्षेत्रको पहिचान र विकासमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबद्र्धनमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए ।
विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रका सरोकारवाला सबैको साझा लक्ष्य हुनुपर्ने उनको भनाई छ ।
आज (सेप्टेम्बर २७) अर्थात् ४२ औं विश्व पर्यटन दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइदै छ । यसै अवसरमा दिएको शुभकामना सन्देशमा उनले सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
नेपालको पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार रहेको सन्देशमा उल्लेख छ ।
आगामी दिनमा पर्यटन क्षेत्रलाई जोखिम बहन गर्न सक्ने क्षेत्रका रुपमा विकास गर्न व्यवसाय बीमा, कामदार र कर्मचारीको सामाजिक सुरक्षा र पर्यटन जोखिम कोष व्यवस्थापनलाई प्रभावकारी रूपमा अघि बढाइएको उनको भनाई छ ।

प्रतिक्रिया