शुक्रबार, चैत १६, २०८०

महिलाले पाए बहुपतिको अधिकार !

नेपालखोज २०७८ असोज ११ गते १२:१८

काठमाडौं । अहिले ३३ वर्ष पुगेकी दक्षिण अफ्रिकाकी समलिंगी महिला मुभुम्बी एनडीजालालाई लाग्थ्यो ‘के जीवनभर एक श्रीमानसँग मात्रै बस्नुपर्ने हो र ?’ उनी आफ्ना बुवाआमालाई पनि सोध्ने गर्थिन् ‘के तपाईँहरू आफ्नो जीवनभर एक अर्कासँग मात्रै बस्नुहुन्छ ?’ उनलाई एक जनासँग मात्रै विवाह गर्ने परम्पराबारे प्रश्न उठ्थ्यो र यो विषयमा चित्त बुझ्दैन थियो ।

मानिसहरू आफ्नो जीवनमा समयानुकूल बन्नुपर्छ भन्ने उनको सोच थियो । तर चलचित्रदेखि स्थानीय गिर्जाघरहरूले एक पटकमा एउटा मात्रै सम्बन्धको पक्षमा वकालत गरिरहे त्यो प्रथाको उनी विरोधी पनि थिइन् ।

मुभुम्बी सबैको सहमतिमा एक पटकमा धेरै जनासँग प्रेम सम्बन्ध राख्ने समलिंगी महिलाका रूपमा आफूलाई चिनाउँछिन् । उनले दक्षिण अफ्रिकामा एक जनाभन्दा बढी व्यक्तिसँग सम्बन्ध राखिरहेका व्यक्तिहरूका लागि सुरक्षित वातावरण निर्माण गरिरहेको बताउँछिन् ।

‘एक कार्यक्रम प्रस्तोतासँग मेरो सम्बन्ध छ जससँग मेरा सन्तान पनि छन् र मेरो अर्का पार्टनर हामी प्रति खुसी छन्,’ उनी खुलेर भन्छिन् । ‘उनी विवाह गर्न चाहँदैनन् तर भविष्यमा म एकभन्दा बढी व्यक्तिसँग विवाहित भएको कल्पना गर्छु,’ उनी थप्छिन् । अर्को सम्बन्धबाट आफूले यौन र प्रेम सन्तुष्टि प्राप्त गर्ने गरेको उल्लेख गर्दै उनले ती पुरुषसँग कम भेट्ने उल्लेख गरिन् ।

दक्षिण अफ्रिकामा संसारको सबैभन्दा उदारमध्येको संविधान छ । यहाँ सबैलाई समलिंगी विवाहको अधिकार दिएको छ । पुरुषहरूलाई एकभन्दा बढी विवाह गर्ने अधिकार छ । अहिले उक्त देशले आफ्नो विवाहसम्बन्धी कानुनलाई अद्यावधिक गर्न छलफल गरिरहेको छ ।

महिलालाई पनि एक पटकमा एकभन्दा बढी श्रीमान् राख्ने गरी बहुपतिको अधिकार दिने या नदिने भन्ने एउटा महत्त्वपूर्ण प्रश्न छ । पुरातनवादीहरूले त्यसको चर्को विरोध गरिरहेका छन् । धेरैले यसले अफ्रिकाको संस्कृतिलाई ध्वस्त बनाउँछ भनिरहेका छन् ।

विपक्षी दल क्रिस्चियन डेमोक्र्याटिक पार्टीका कतिपय नेताले पनि यसले समाजलाई ध्वस्त बनाउने चेतावनी दिएका छन् । नेता रेभेरेन्ड केनेथ मेस्वे भन्छन्, ‘यस्तो समय आउने छ जुनबेला एउटा पुरुषले भन्ने छ, ‘तिमीले अधिकांश समय मसँग नभई त्यो पुरुषसँग बितायौँ ।’ त्यसले दुई पुरुषबीच द्वन्द्व निम्त्याउने उनको तर्क छ ।

मुभुम्बी अहिले बहुपति सहितको सम्बन्धका पक्षमा रहेका महिलाहरूका लागि महत्त्वपूर्ण समय रहेको ठान्छिन् । उनले पुरुषहरूलाई बहुपत्नी राख्न दिइएको भएपनि महिलाहरूलाई बहुपतिको कुरा गर्दा लज्जित पार्ने गरिएको भन्दै त्यो अवस्था बदल्न धेरै काम हुनुपर्ने उल्लेख गरिन् ।

बीबीसीको सहयोगमा

प्रतिक्रिया