शुक्रबार, चैत १६, २०८०

नेप्सेको पहिरो कायमै : ७३ अंकले घटेको बजारमा ५ अर्ब १२ करोडको कारोबार, सबै सूचक राताम्मे

नेपालखोज २०७८ असोज ११ गते १५:४१


काठमाडाैं । नेप्सेमा पहिरो आउने क्रम रोकिएको छैन । अघिल्लो दिन (आइतबार) ६१ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन (सोमबार) पनि ७३ दशमलव पाँच अंकले घटेर २६ सय ८५ दशमलव ४१ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ९४ अंकले घटेर पाँच सय ६ दशमलव ३३ अंकमा पुगेको छ । २२७ कम्पनीको ६७ हजार पाँच सय ८७ पटकको कारोबारमा एक करोड चार लाख ७८ हजार ६८ कित्ता सेयर किनबेच भएकामा कुल कारोबार रकम पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक घटेर नेप्से पूरै राताम्मे बनेको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ४४ दशमलव आठ अंकले घटेर १९ सय पाँच दशमलव ७४ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि एक सय ९४ दशमलव एक अंकले घटेर चार हजार नौ सय एक दशमलव ८० अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि चार सय ३९ दशमलव २८ अंकले घटेर ११ हजार सात सय आठ दशमलव ५९ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि चार सय ३७ दशमलव १७ अंकले घटेर १४ हजार आठ सय ८५ दशमलव तीन अंकमा झरेको छ । यीबाहेक जलविद्युत्, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्र्रतिशतले बढेर १५ सय ९३ रुपैयाँ ७० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा गुडबिल फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ८३ प्रतिशतले घटेर छ सय ७१ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रतिकित्ता चार सय ९२ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड ४९ लाख ७१ हजार दुई सय ३० रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया