काभ्रेका ६ पालिकामा कोरोना संक्रमण शून्य

नेपालखोज २०७८ असोज १३ गते ११:३४


काठमाडौं । यहाँका दुई नगरपालिका र चार गाउँपालिका कोरोना संक्रमणमुक्त भएका छन् । अन्य पालिकामा पनि पछिल्लो केही दिनदेखि संक्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको तथ्याङ्कले देखाएको छ ।

संक्रमणमुक्त हुनेमा मण्डनदेउपुर र नमोबुद्ध नगरपालिका तथा चौँरीदेउराली, रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । भुम्लु र महाभारत गाउँपालिकामा एक-एक संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी) ले जनाएको छ ।

केन्द्रका अनुसार पछिल्लोे २४ घण्टामा जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ भने २२ सङ्क्रमणमुक्त भएका हुन् ।

चौंरीदेउराली, रोशी, तेमाल र खानीखोला गाउँपालिका भने केही हप्तादेखि संक्रमणमुक्त भएका हुन् । जिल्लामा हाल ७४ सक्रिय संक्रमणमध्ये बनेपामा २६, पाँचखालमा आठ, धुलिखेलमा २२, पनौती नगरपालिकामा छ तथा बेथानचोक गाउँपालिकामा १० सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।

केन्द्रअनुसार यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले संक्रमणदर भन्दा संक्रमणमुक्तदर अधिक रहेको देखाएको हो । जिल्लामा हालसम्म १४ हजार ५७० मा संक्रमण देखिएकामा १९२ को मृत्यु भएको छ ।

गत भदौ महिनायता नगन्यदरमा संक्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९८ दशमलव १७ प्रतिशत अर्थात् १४ हजार ३०४ संक्रमणमुक्त भइसकेका छन् ।

संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले जिल्लामा पछिल्ला केही हप्तादेखि यही असोज ५ गतेसम्म ‘मिक्स लकडाउन’ गर्दै आएको थियो ।

कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो ।

प्रतिक्रिया