भारतमा थप १८ हजार संक्रमित थपिए

काठमाडौं । भारतमा थप १८ हजार ८७० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित भएका मध्ये ११ हजार १९६ जना केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारी अधिकारीहरुले बुधबार (आज) दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या चार लाख ४७ हजार ७५१ पुगेको छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या दुई लाख ८२ हजार ५२० रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो संख्या १९४ दिनपछिकै सबैभन्दा कम हो ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या तीन करोड २९ लाख ८६ हजार १८० पुगेको छ । ती मध्ये २८ हजार १७८ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।
पछिल्लो समय दैनिक नयाँ संक्रमितहरुको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या बढी भएकाले सक्रिय संक्रमितहरुको सङ्ख्या घटेको हो । पछिल्लो एक दिनमा देशभरी १५ लाख चार हजार ७१३ जनाको कोरोना परीक्षण गरिएको छ ।
योसँगै अहिलेसम्म ५६ करोड ७४ लाख ५० हजार १८५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया