प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै, संसद् अवरोध मुख्य एजेन्डा

नेपालखोज २०७८ असोज १४ गते ६:३९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । संसद्मा जारी गतिरोध अन्त्यलगायतका विषयमा छलफल गर्न विहान १० बजेका लागि देउवाले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको निजी सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाएको पुष्टि गरेको छ । पछिल्लो समयमा प्रमुख प्रतिपक्षी नेकपा एमाले लगातार संसद् बैठक अवरोध गर्दै आएको छ । आज बस्ने बैठकको मुख्या एजेन्ड नै संसद्मा जारी गतिरोध अन्त्य रहनेछ ।

प्रधानमन्त्रीको निजी सचिवालयले पनि सबै दलको कुरा सुन्नका लागि बैठक आह्वान गरिएको र त्यसमा मुख्य एजेन्डा संसद्मा जारी अवरोध रहेको जनाएको छ ।

गत २३ भदौमा सुरु भएको संसद्को चालू अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार रूपमा नाराबाजी गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेको लगातार संसद् बैठक अवरोध गर्दै आएको छ ।

आफ्नो पार्टीले कारबाही गरेको १४ सांसद्लाई कारबाहीको सू्चना जारी गरिनुपर्ने एमालेको माग रहेको छ ।

तर, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका ती सांसदहरूले नेकपा एकीकृत समाजवादी पार्टी नै दर्ता गरिसकेका छन् । एमालेकै अवरोधबीच पनि सरकारले भने बजेट पास गरिसकेको छ ।

प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गरिसके पनि प्रमुख प्रतिपक्षी दल बैठकमा सहभागी हुने नहुनेबारे टुंगो लागेको छैन । यसअघि, सभामुखले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी एमालेले बहिष्कार गरेको थियो ।

प्रतिक्रिया