बादलले भने- ‘जबज’ अझै सान्दर्भिक

नेपालखोज २०७८ असोज १४ गते १६:५७

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन् । बिहीवार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताए ।

उनले जबजमा रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरु लागू हुनुपर्ने बताएका छन् । महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै नेता बादलले महाधिवेशनले देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्ने बताए ।

उनले महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संसोधन प्रतिवेदन पेस हुने बताउँदै उत्पादक शक्ति र राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रमहरु जबजमा रहेको बताउँदै जबजलाई अघि लिएर जानुपर्ने बताउँदै जबजका बारेमा राष्ट्रिय विधान महाधिवेशनमा पस्तुत गरिने बताए ।

स्थायी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताए । उनले विगतमा जनवादी क्रान्तिको आन्दोलनको वैचारिक मार्गदर्शन जबजले गरेको बताए । स्थायी कमिटी सदस्य थापाले समृद्ध नेपाल, सुखी नेपालीको नारा समाजवादको आधार तयार गर्ने नीति अन्तर्गतकै भएको बताए ।

प्रतिक्रिया