चाडपर्व न्यून सहभागितमा घरभित्रै मनाउन आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्व न्यून सहभागितमा घरभित्रै मनाउन आग्रह गरेको छ । प्रशासनले बिहीबार एक विज्ञप्ति जारी गर्दै चाडपर्वहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साँकेतिक रुपमा सकेसम्म घरभित्रै परिवारका व्यक्तिहरु मात्र सामेल हुने गरी मनाउन आग्रह गरेको हो ।
त्यस्तै, प्रशासनले काठमाडौंमा आजदेखि सभा जुलुस गर्न पनि रोक लगाइएको छ । अर्को आदेश नभएसम्मका लागि सभा जुलुस गर्न प्रतिबन्ध लगाइएको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना महामारीको जोखिम यथावत रहेको भन्दै बढी भीडभाड हुने कार्यक्रमहरु आयोजना गर्न रोक लगाइएको हो । चाडपर्व तथा कोरोना महामारीलाई ध्यानमा राखेर आदेश जारी गरिएको छ । चाडपर्व मनाउँदा पनि आफ्नै परिवारभित्रमात्र बनाउन आग्रह गरिएको छ । होटल, पार्टी प्यालेसलगायतले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने आदेशमा उल्लेख छ ।
यस्तै सार्वजनिक यातायातको टिकट काट्दा आधिकारिक काउण्टरबाटमात्र काट्न यात्रुहरुलाई आग्रह गरिएको छ । बसमा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक, सहचालकले मास्क, भाइजर र ग्लोभ्स लगाउनुपर्ने तथा बसको ढोकामा अनिवार्य स्यानिटाइजर राख्नुपर्ने तथा सवारी साधनको छतमा यात्रा नगर्न पनि आग्रह गरिएको छ ।
त्यस्तै, चाडपर्वको समयमा बढी भिडभाड र जोखिमयुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चारी, ठगी, लुटपाटजन्य गतिविधिबाट पनि सर्वसाधारणहरुलाई सचेत रहन आग्रह गरिएको छ ।



प्रतिक्रिया