बिहीबार, जेठ २, २०८२

जिपकाे ठक्करबाट घाइते भएकामध्ये २ काे मृत्यु

नेपालखोज २०७८ असोज १५ गते १६:११


काठमाडौं ।आज बिहान जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु भएको छ । अन्य तीन सख्त घाइते भएका छन् ।

सल्यान जिल्लाको थारमारेबाट श्रीनगरतर्फ आइरहेको लु २ च ५७०१ नंको डबल क्याप जिपले शारदा नगरपालिका–६ बाङ्गे सल्लाको नजिकै सडक छेउमा बसिरहेका ५ छात्रालाई ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते भएकी शारदा नगरपालिका–६ बरला निवासी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी १८ वर्षीया सुनिता नेपालीलाई उपचारका लागि नेपालगञ्ज लाँदै गर्दा दाङ जिल्लाको राम्रीमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते रेखा र सुनितालाई छाती तथा मुखमा गहिरो चोट लागेको र उनीहरुको अवस्था जटिल भएकाले प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकामा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते शारदा नगरपालिका–६ बरालाका १८ वर्षीया मीना परियार, १६ वर्षीया सुशिला नेपाली र १८ वर्षीया दीपा बुढाथोकीलाई पनि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

शिवजन माविमा कक्षा १२ मा अध्ययनरत छात्राहरु सडकको छेउमा बसिरहेको बेला तीव्र गतिमा रहेको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिए ।

जिपमा सवार चारजना भने सकुशल थिए । जिप सडकभन्दा १० मिटर तल खसेको थियो । दुर्घटनापछि फरार जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वलीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया